निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याम टासी एमाओवादीको समानुपातिक सूचिमा नआटाएपछि दोस्रो संविधानसभा भवनमा फिल्म क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिको संख्या शून्य जस्तै भएको छ ।

पुस १५ गतेको अन्तिम मितिमा एमाओवादीले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सूचिमा निर्देशक श्रेष्ठ र टासीको नाम उल्लेख छैन । अभिनेता भुवन केसी पनि एमालेको समानुपातिक सभासदको सूचिमा पर्न सकेनन् । यद्पी भुवनले पार्टीको निर्णयबाट आफु खुसी रहेका बताउँदै एमालेको सिद्धान्त र विचारबाट आफु विचलित नहुने प्रेसमिट गरेरै बताएका छन् ।
जनजाति तथा पिछडिएको क्षेत्र मुगुबाट प्रतिनिधित्व गरेका निर्देशक हिमग्याप टासीले भने निर्वाचन आयोगले सूचिमा समावेश गरिएका नाममाथि हेरफेर गर्न दिएको तीन दिनको अवधीमा आफु पर्न सक्ने सम्भावना रहेको बताए । उनले सभासद नबन्दैमा पार्टीको लाइनबाट विचलित नहुने समेत बताए ।
दोस्रो संविधान सभामा राप्रपा पार्टीबाट प्रत्यक्ष चुनाव लडेका निर्माता उद्धव पौडेलले पराजय भोगेका थिए । हल व्यवसायी रामविर मानन्धर भने एमालेको तर्फबाट संविधानसभा भवनमा पुगेका छन् । उनी प्रत्यक्ष निर्वाचनबाटै बिजयी भएर संविधानसभामा पुगेका हुन् ।
प्रत्यक्ष चुनाव हार्नु र पार्टीले समानुपातिकतर्फ नाम सिफारिस नगर्नुले फिल्मकर्मीलाई राजनीतिक दलले पत्याउँदैनन् भन्ने शिक्षा भएका धेरैको विश्लेषण छ ।

