नेपाली नाटक विधामा गहिरो सम्बन्ध जोडिएको नाम हो, सुनिल पोखरेल । फिल्मका दर्शकमाझ सुनिलको नाम नौलो हुनसक्छ तर नाट्य क्षेत्रमा उनको नाम यसरी गाँसिएर बसेको छ जुन जीवनपरन्त पनि अटुट रहिरहनेछ । नाटक घर गुरुकुलका संस्थापक पोखरेल ‘रियालिस्टिक' अभिनय गर्ने कलाकारका रुपमा समेत परिचित सुनिलले नाट्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा जति गरेपनि अधुरै हुनेछ ।
नाटक विधामा भारतको नयाँ दिल्लीबाट ग्रयाजुयट गरेका पोखेरलले दर्जनौं नाटकका निर्देशक तथा पात्र हुन् । पोखरेलले नाटक मञ्चनबाट दर्शकलाई सजिलै प्रभावित पार्न सक्छन् । थिएटरका खुङखार कलाकार पोखरेलको अभिनय क्षमतालाई नियाल्ने अवसर नेपाली फिल्मका दर्शकले भने खासै पाएनन् । सुनिललाई गुरुकुल नै प्यारो लाग्यो ? या, उनलाई नेपाली फिल्म मेकर्सले फिल्ममा मनाउन सकेनन् ?
पोखरेलका शिक्षित भएका थुप्रै चेलाहरु नेपाली फिल्ममा भित्रिइसकेका छन् । कर्म, सौगात मल्ल, दयाहाङ राई, सरिता गिरी जस्ले नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेका छन् । फिल्म 'छड्के'मा अभिनेता सुनिल पोखरेलले छोटो भूमिकामा अभिनय गरे । जुन स्मरणीय रह्यो । जुन अभिनय कला वर्तमान नेपाली फिल्म क्षेत्रलाई नितान्त आवश्यक छ ।
नेपाली फिल्ममा आवश्यक देखिएका यिनै सशक्त अभिनेता सुनिल पोखरेलले मौलिक फिल्म 'वनफूल'मा अभिनय गरेका छन् । जीवनसाथी फिल्मस्ले सुनिललाई 'वनफूल'मा मुख्य पात्रको रुपमा उभ्याएको छ । फिल्मलाई सुनिलका चेला नवराज बुढाथोकीले निर्देशन गरेका छन् । फिल्मको प्रोमोमा सुनिल सशक्त रुपमा प्रस्तुत भएका छन् । नेपाली फिल्ममा अभाव खड्किएका सुनिल फिल्म 'वनफूल' मार्फत सशक्त रुपमा प्रस्तुत हुँदैछन् ।
गुरुकुल नाटक घरमा उनको नाटक हेरेर ‘वाह’ भन्नेले 'वनफूल'लाई पनि त्यस्तै प्रतिक्रिया दिनेछन् भन्ने निर्माण युनिटको विश्वास छ । नेपाली फिल्म क्षेत्रलाई आयतित फिल्मले गाँजेको छ । भारतीय र कोरियन मुलुकबाट कपी भएका फिल्मको दब्दबा फिल्म बजारमा छ । मौलिक विषय र गुरुकुलका सशक्त कलाकारलाई मुख्य रुपमा प्रस्तुत गरिएको फिल्म वनफूलले दर्शक समक्ष कस्तो छाप छोड्ला ?

