पुस २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘छ एकान छ’ प्रचारको लागी निर्माता समेत रहेका दिपकराज गिरी र दिपाश्री निर्रौलाको जोडी मोफसलतर्फ लागेको छ । दिपक र दिपा आज (पुस १५ गते) नारायणघाट तर्फ लागेका छन् ।
करिब एक साता मोफसलका विभिन्न क्षेत्रमा ‘छ एकान छ’ को पोस्टर तथा पम्पलेट बाँडिने र स्थानीय मिडियासँग फिल्मबारे अन्र्तक्रिया गरिने फिल्मका मुख्य कलाकार दिपकले बताए । ‘फिल्मको प्रचार हेटौंडा शहरमा पनि गरिनेछ,’ दिपकले सुनाए- ‘हामी देशका अन्य शहरमा पनि फिल्मको प्रचार गर्न जुट्नेछौं ।’ पहिलो चरणको प्रचारपछि पोखरा लगायतका शहरमा फिल्म प्रचार गर्न हिड्ने दिपाले बताइन् । आफ्नो जोडी मोफसल र अन्य कलाकार काठमाडौंमा बसेर फिल्मको प्रचार गर्ने दिपाले बताइन् ।
‘छ एकान छ’ले हाँस्य टेलिफिल्म ‘तीतो सत्य’, ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ मा कमेडी फिल्मको प्रचार गरिरहेको छ । यो फिल्ममा दिपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल र सन्दिप क्षेत्रीले मुख्य भूमिकामा अभिनय गरेका छन् । नीता ढुङ्गाना मुख्य हिरोइन भएको फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका हुन् ।

