Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

`हिरो बन्ने सपना सुनाउँदा हाँस्थे` : गजित बिष्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/12/30

संकल्प र दृढ विश्वासले मनको चाहना पुरा गर्छ भन्ने पाठ अभिनेता गजित विष्टको दश बर्षे संघर्षशिल जीवनले दिन्छ । अभिनेता विष्ट जतिबेला विराटनगर गृह जिल्लामा नि.मा.वि तहको विद्यार्थी थिए, उनका सहपाठी डाक्टर, इन्जिनियर र पाइलट बन्ने सपना सुनाउँथे । गजितको हिरो हुने सपना सुन्दा ठुला व्यक्ति हाँस्थे । सहपाठीलाई गजितका कुरा पत्याउनै मुस्किल पर्थ्यो ।

 

हिरो हुने चाहना राख्ने गजितले नेपाली हिरो शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालका फिल्म हेर्न धेरै पटक ‘क्लास बङ्क’ गरे । गल्ती थाहा पाउँदा स्कूलमा शिक्षक र अभिभावकको गाली राम्रै पाउँथे, यद्पी ‘क्लास बङ्क’ गरेर शिव, भुवन र राजेशका फिल्म हेर्न भने छोडेनन् । किनकी गजितलाई उनीहरु जस्तै फिल्ममा मुठी उठाउँदै गुन्डा पिट्ने हिरो बन्नु थियो । हिरो बन्ने सपना देख्नु अहिले जस्तो त्यती बेला सहज थिएन साथमा परिवारको स्विकृती पनि ।

 

‘आमा बुवाले मलाई कुनै विजनेश गरोस् भन्ने चाहनु हुन्थ्यो,’ वर्थडे व्यायले सुनाए-, ‘तर ममा फिल्मको हिरो बन्ने रहर जागिसकेको थियो ।’ वि.सं. २०५८ सालमा वि.वि.एस पढ्दै गर्दा गजित बन्ने हिरो बन्ने रहरलाई लक्ष्य बनाएर काठमाडौं मोडिए । ‘बिहान पाँच बजेको हुँदो हो । कपडाको झोला बोकेर हिरो बन्ने सपना पुरा गर्न म काठमाडौं हिंडे,’ गजित सम्झन्छन्- ‘हिरो बन्न काठमाडौं आउँदा बाटो खर्च भनेर आमाको सिरानीबाट दुई हजार रुपैयाँ झिकेको थिएँ ।'

 

गजितले आमाको सिरानीबाट झिकेको दुई हजार रुपैयाँ काठमाडौंमा दुई महिना पनि टिकेन । उनको भोको पेटले आहारा खोन्न थाल्यो । केही महिना उनी काठमाडौंमा आफन्तको साथमा रहे र दैनिकी गुजारे तर उनको भोको पेटमा पनि हिरो बन्ने रहर भने मरिसकेको सकेको थिएन । विराटनगर हुँदै डान्स कल्चरका गुरु गजितले काठमाडौंमा पनि आफुसँग भएकै सिपसँग सम्बन्धित पेशालाई अंगाले ।

 

मैतिदेवीको अनुपमा डान्स सेन्टरमा उनी डान्स गुरुका रुपमा कार्यरत भए । उनको नृत्य शिकाउने कलालाई सबैले रुचाए । उनी विभिन्न स्कूल तथा कल्चरका नजरमा पर्न थाले । कमाइ राम्रै हुन थाल्यो । सँगै उनले सिकाएका विद्यार्थीले विभिन्न प्रतियोगितामा उत्कृष्टताको पुरस्कार हाँसिल गरे । उनी पनि पुरस्कृत भए । नाच्ने र नाच सिकाउने कलामै गजित रमाउन थालेका थिए । उनमा फिल्मको हिरो बन्ने तिव्र चाहना लगभग हराइसकेको थियो । फिल्मको हिरो बन्न झन्डै मरिसकेको चाहनालाई टेलिभिजनको एक रियालिटी शोले उब्जाइदियो ।

 

करिब वि.सं २०६४ सालमा ‘सुपर एक्टिङ कम्पिटिसन’ शोमा गजित उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । विडम्वना, त्यो कार्यक्रम विविध कारणले गर्दा टेलिभिजनमा प्रशारण हुन सकेन । दोस्रो टेलिभिजन कार्यक्रम ‘खोजी प्रतिभाको ०६७’ रियालिटी शोले गजितको हिरो बन्ने रहरलाई पूरा गरिदियो । उक्त रियालिटी शोका निर्देशक तथा सञ्चालन दिनेश डिसीले फस्ट रनरअप विस्टलाई फिल्म ‘मायाज बार’ मा हिरो बनाइदिए । जुन फिल्मका निर्देशक डिसी थिए ।

 

गजितको पहिलो फिल्म मायाज बारले फिल्म बजारमा निकै चर्चा बटुल्यो । सुनिल मानन्धरको निर्माण रहेको यो फिल्म हेर्न दर्शक हलमा लाइन लागे । गजितको अपोजिटमा अभिनेत्री निशा अधिकारी थिइन् । सितोरियो कराँतेमा २ वर्ष र ह्यापकिडो मार्सलआर्टमा ब्ल्याक वेल्टसम्मका खेलाडी गजितलाई ‘मायाज बार’ फिल्मले हिरोको परिचय दियो साथमा अन्य फिल्म खेल्ने पनि ढोका खोलिदियो । ‘मायाज बार’ फिल्मबाट गजितले उत्कृष्ट डेव्यु एक्टरको अवार्ड समेत उचाले ।

 

मैतिदेवीमा ‘डान्स फिभर’ डान्स कल्चर समेत सञ्चालन गरेका गजितले आधा दर्जन फिल्ममा अभिनय गर्ने अवसर पाएका छन् । जसमध्ये ‘तोरी लाहुरे’ र ‘गल्ली’ फिल्म प्रदर्शनको पर्खाइमा छन् । हिरो बनेर के पाएँ जस्तो लाग्छ ? गजितलाई प्रश्न गरियो । ‘स्कूल पढ्दा हिरो बन्ने देखेको सपना पाएँ । तर, दर्शकको ईच्छा पूरा गर्न बाँकी छ । दर्शकलाई राम्रो फिल्म दिने मेरो प्रयास रहनेछ,' गजितले सुनाए ।

 

नेपाली फिल्ममा भविष्य उज्जवल गर्न संघर्षरत अभिनेता गजित विष्ट आजकै दिन जन्मेका हुन् । गजितलाई जन्मदिनको शुभकामना !