पुस चौधको फिल्म ‘बितेका पल’ प्रिमियर साँझमा अभिनेत्री केकी अधिकारी ‘मस्ट नोटिसेवल पर्सन’ बनिन् । फिल्ममा ‘नुमा’ क्यारेक्टरबाट केकीले जति तारिफ पाइन् त्यति नै तारिफ उनले प्रिमियर शोमा पहिरिएको ढाकाको गाउनबाट ।
प्रिमियर साँझमा ज-जस्का आँखा केकीमा परे सबैको भने- ‘यु लुकिङ सो स्विट !' फिल्मको भव्य समारोहमा को सुन्दर नदेखिएला र ? तर, सबै 'नोटिसेवल' भने हुँदैनन् । केकी ‘बितेका पल’ को प्रिमियरमा निकै 'नोटिसेवल' भइन् । तर, केकीको रुप देखिनुमा उनको आफ्नै हात भने छैन । सम्भवतः केकी त्यहाँ 'सरप्राइज नोटिस' भैरहेकी थिइन् । केकीलाई नै विश्वास लागी रहेको थिएन कि उनी त्यती राम्री देखिएकी थिइन् ।
केकीलाई कस्ले बनायो त्यती राम्री ? प्रिमियरमा यो प्रश्नको जवाफ खोज्नु त्यती उचित नभएपनि जिज्ञासा मेटिनु आवश्यक थियो । निलिमा शर्मा नेपाली फिल्मको फेसन जगतमा परिचित हुँदै गएको नाम हो । केकीलाई यिनै सुन्दरी फेसन स्टाइलिसले त्यती धेरै राम्री बनाएकी रहिछिन् । ‘बितेका पल’ की फेसन स्टाइलिस समेत रहेकी निलिमाले राज खोलिन्- ‘केकीलाई प्रिमियर शोमा फरक देखाउनु मेरो लागी चुनौती थियो ।’ निलिमाले रहस्यको पोको फुकाइन्- ‘मैंले केकीको वर्थडे सेलिव्रेट गर्दा नै उसले प्रिमियरमा पहिरिने पहिरन बारे योजना बनाएको थिएँ ।’
योजना अनुरुप नै फेसन स्टाइलिस शर्माले केकीलाई झन्डै डेढ महिना लगाएर 'ढाका डिलाईट' तयार गरिन् र केकीलाई सरप्राइज गिफ्ट दिइन् । केकी पनि अचम्ममा परिन् । तपाईं सार्है राम्री देखिनु भएको छ भन्न नपाउँदै केकीको प्रतिक्रिया आयो- ‘म राम्री भन्दा पनि मलाई हेर्ने नजर राम्रो हो । मलाई राम्री बनाउने निलिमा दिज्यूप्रति आभारी छु ।’ अभिनेत्री अधिकारी र फेसन स्टाइलिस शर्मा मिल्ने साथी समेत हुन् । उनीहरु एकअर्कालाई दिदि बहिनीको नाता लगाउँछन् ।



