फिल्म प्रिमियर किन र केका लागि ? सायद यही प्रश्नको गतिलो जवाफ नपाएर होला पछिल्लो समय नेपाली फिल्मका निर्माता तथा निर्देशक आफ्नो फिल्मको प्रिमियर गर्दैनन् । नेपाली फिल्म क्षेत्रमा फिल्म प्रिमियर गर्नु भनेको निर्माताको बजेट बढाउनु र दर्शक भड्काउने कार्य हो । यही भयले गर्दा निर्माता तथा निर्देशकले फिल्मको प्रिमियर गर्ने परिपाटीलाई नै भुल्दै गइरहेका छन् ।
एकाध निर्माता निर्देशकले मात्रै फिल्मको प्रिमियरलाई निरञ्तरता दिएको पाइन्छ । यही पुस २६ गते अल नेपाल प्रदर्शन हुने सुरज सुब्बा नाल्बो निर्देशित ‘बितको पल’ फिल्मले प्रदर्शनको दुई हप्ता अगाडी नै भव्य प्रिमियर गर्दैछ । आज (पुस १४ गते) कमलादीस्थित विग मुभिजमा साँझ ५ बजे विशिष्ट व्यत्तित्व तथा सञ्चारकर्मीबिच सत्यप्रेम कथा खुल्दैछ ।
पहिलो फिल्म ‘बाटोमुनिको फूल’लाई समेत प्रिमियर गरेका निर्माता राजेश घतानीको प्रष्ट्याइ छ- ‘फिल्मलाई राम्रो बनाउने सक्दो प्रयास गरेका छौं । प्रिमियरमा आएको राम्रो प्रतिक्रियाले सार्वजनिक प्रदर्शनमा सबै दर्शकलाई जानकारी होस् भन्ने हाम्रो उद्धेश्य हो ।’ विभिन्न चरणमा 'ट्रायल शो' समेत गरिएकाले ‘बितेका पल’ उत्कृष्ट बनेको समेत निर्माता घतानीले दाबी गरे ।
साँझको प्रिमियर शोमा विग मुभिजको ३ सय ३८ वटा सिट हाउसफुल हुने गरी पाहुनालाई निमन्त्रणा दिइएको निर्माता घतानीले बताए । केकी अधिकारी, अभिनाश गुरुङ, बाबु बोगटीको मुख्य अभिनय रहेको फिल्मको प्रिमियर शोका विशेष पाहुना एमाओवादीका नेता वर्षमान पुन ‘अनन्त’, खेलकुद सदस्य सचिव युवराज लामा, अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा हुनेछन् ।
‘बितेका पल’ डेव्यु एक्टर अभिनाश गुरूङ दार्जीलिङबाट परिवारका सदस्य सहित प्रिमियरमा सहभागि हुँदैछन् । त्यस्तै बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यलाई पनि पत्नी सहित प्रिमियरमा देख्न पाइनेछ । निर्माता संघका अध्यक्ष राजकुमार राई सहित फिल्म सम्वद्ध संघसंस्थाका प्रतिनिधि र अन्य फिल्मकर्मीलाई पनि फिल्म हेर्ने निमन्त्रणा दिइएको निर्माताले घतानीले जानकरी दिएका छन् ।
रमाइलो पक्ष यो छ कि पुस २६ को फिल्म मैदानमा प्रतिस्पर्धा गर्ने फिल्म ‘छ एकान छ’ का निर्माता निर्मल शर्मा, दिपकराज गिरी र दिपाश्री निर्रौला पनि ‘बितेका पल’ को प्रिमियरमा सहभागी हुँदैछन् । बाक्लै भिडभाडका साथ आयोजना गर्न लागिएको ‘बितेका पल’ को प्रिमियरले नै पुस २६ गतेको हलमा हुने व्यापारलाई निर्धारण गर्नेछ । प्रिमियरमा सहभागीले दिने प्रतिक्रियाले दर्शकलाई हलसम्म तान्ने विश्वास छ ।

