Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

आमा बन्न गर्भ नै बोक्नु पर्दैन : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/27

१२ बर्षे फिल्म यात्रामा अभिनेत्री रेखा थापाले लाखौं दर्शकलाई हाँसो सँगै रुवाइन् पनि । यिनै फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको नाममा स्थापना भएको ‘रेखा थापा फाउन्शेन’ उद्घाटन कार्यक्रम पनि हाँसो र रोदनसँग मिसिन पुग्यो ।

 

अभिनेत्री थापाले सुदुर पश्चिमको सुर्खेत र डढेलधुरा जिल्लामा पुगेर लोपोन्मुख राउटे जातिलाई देखाएको सहयोग र सद्भावपूर्ण डकुमेन्ट्री हेर्दा धेरैका आँसा रसाए । करिब आधा घण्टाको डकुमेन्ट्रीमा राउटेका बच्चालाई नुहाउँदै भनेकी छिन्- ‘आमा बन्न गर्भ अथवा रगतकै नाता नचाहिदो रहेछ । आमा बन्न त जिम्मेवारी महसुश हुनुपर्ने रहेछ । मैले आमा बनेको महसुश गरेको छु ।’

 

कतारमा आफ्नो जवान छोरा गुमाएका आमाबुवालाई फाउन्डेशनकी अध्यक्ष थापाले पचास हजार रकम हस्तान्तरण गर्दा सहभागीका रसाएका आँखाबाट आँसु चुहिए । दाङ जिल्लादेखि राजधानीमा सहयोग लिन आएका मृतकका पिता तिलक बहादुर विक र आमा बसन्ती विक भक्कानिदाँ माहोल स्तब्ध बन्यो । आँखाबाट आँसु चुहाउँदै विक दम्पतीले भने- ‘छोराले धन कमाएर ल्याउँछ भन्ने ठुलो आश थियो । कतारबाट धन हैन छोराको लास आयो । चार लाख ऋण छ । कस्तो परिवारमा जन्म भएछ !' उनीहरु थप बोल्न सकेनन् ।

 

 

करिब २ सय नेपाली फिल्ममा मुख्य अभिनेत्री भएर अभिनय गरेकी अभिनेत्री रेखा थापाले ‘रेखा थापा फाउन्डेशन’ को औपचारिक रुपमा उद्घाटन गरेकी छिन् । फाउन्डेशनको उद्घाटन अध्यक्ष थापा सहित राउटे उत्थान समाजका सल्लाहकार शिव राउटे र नेपाल राउटे विकास संघका अध्यक्ष धनबहादुर राउटेले संयुक्त रुपमा गरे । फाउन्डेशनको उद्घाटनमा निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र संघका अध्यक्ष विदुर गिरी पनि सरिक भए ।

 

पिछडिएका महिला, अनाथ बालबालिका, असहाय र वृद्धवृद्धाको सेवा र हितको लागी आवश्यक कार्य गर्ने तथा गराउने जस्ता विभिन्न उद्धेश्य राखेको ‘रेखा थापा फाउन्डेशन’ ले पहिलो कार्य स्वरुप डढेलधुराका राउटे समुदायका तीन बालिका तथा एक बालकलाई आवाससहित शैक्षिक व्यवस्था गरेको छ । चार राउटे बालबालिकालाई स्वयम्भुस्थित आनान्दकुटी विद्यालयको आवासगृहमा राखिएको छ ।

 

 

कार्यक्रममा राउटे विकास संघका अध्यक्षले ‘रेखा थापा फाउन्डेशन’सँग सहयोग र सहकार्य गर्दै राउटे समुदायको उत्थानको लागी एक भएर अगाडी बढ्न धारणा राखे । उनले भने- ’राउटेका बच्चालाई काठमाडौंमा आएर पढ्न पाउँछन् भन्ने हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । रेखा थापाजीले गर्नुभएको सहयोगबाट हामी खुसी छौं ।’ यस्तै सल्लाकार शिव राउटेले अभिनेत्री थापाको फाउन्डेशनबाट फेरी पनि आफ्नो समुदायलाई सहयोग हुने अपेक्षा व्यक्त गरे ।

 

 

अभिनेत्री थापाले गत साता सुर्खेतमा रहेका ५२ परिवारलाई एक एक बोरा चामल सहित केही रकम र अन्य खाद्यन्न वितरण गरेकी थिइन् । फाउन्डेशनकी अध्यक्ष रेखा थापाले भने आफुले सुरु गरेको समाजसेवा फिल्म क्षेत्रकै उपज भएको बताइन् । अध्यक्ष थापाले भनिन्- ‘मलाई १२ वर्षसम्म जसरी माया, सहयोग, सद्भाव र आलोचना गरेर यो स्थानमा ल्याउनु भयो, त्यसरी नै समाजसेवाको क्षेत्रमा पनि यस्तै अपेक्षा गर्दछु । यो मेरो सम्पूर्ण पत्रकार तथा शुभचिन्तकलाई अनुरोध हो ।’ कार्यक्रममा रेखा थापा फाउन्डेशनको वेवसाइट पनि लञ्च गरिएको थियो ।