सन् २०१४ को स्वागत गर्ने तयारी चल्दै गर्दा सन् २०१३ मा फिल्म क्षेत्र कस्तो रह्यो ? कुन फिल्म चले कुन चलेनन् ? कुन जोडी हिट र फल्प बन्यो ? यसको लेखाजोखा सुरु हुन थालेको छ । अंग्रेजी बर्ष ०१३ मा कुन जोडी हिट र फल्प बने ? फिल्मीखबर फ्ल्यासव्याक तर्फ मोडिएको छ ।
बर्ष २०१३ मा ‘मञ्जरी’ मा देखिएका फोहोरी केटाकेटीको जोडीलाई सबैले रुचाए । ‘मञ्जरी’ फिल्म चलेन तर गौरव पहारी ‘फोहोरी केटा’ र सुजाता कोइरालाको जोडीलाई फिल्म हेर्ने सवैले ‘वाह !’ भन्ने प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकमाझ यो जोडी 'रोमान्टिक जोडी अफ द् इयर' बन्न पुग्यो । त्यस्तै बोल्न नसक्ने युवायुवतीको प्रेमकथा भन्ने फिल्म ‘मौन’ को व्यापार मौन रहेपनि अर्पण थापा र नम्रता श्रेष्ठको केमेष्ट्रीलाई भने दर्शकले औधी रुचाए ।
'गाला रातै' गीतले चर्चा दिएको फिल्म 'नोटवुक'मा देखिएको जीवन लुइँटेल र नीता ढुङ्गानाको जोडीलाई पनि दर्शकले मन पराए । फिल्मको व्यापार मध्यम रह्यो । यो जोडीलाई लिएर फिल्म निर्माण गर्न केही निर्माता तथा निर्देशक समेत देखा परे । वर्ष ०१४ मा यो जोडीको फिल्म आउने अड्कल छ । 'नोटवुक'को मुख्य प्रतिस्पर्धी ‘हमेशा’ फिल्ममा रेखा थापा र सविन श्रेष्ठको जोडी खासै जमेन ।
'अन्दाज', 'मालतीको भट्टी', 'जब जब माया बस्छ' जस्ता फिल्मका हिट रेखा जीवनको जोडीलाई दर्शकले यो वर्ष हेर्न पाएनन् । हिट फिल्म 'किस्मत', 'कस्ले चोर्यो मेरो मन' र 'हिफाजत'मा देखिएको आर्यन र रेखाको हिट जोडीलाई सम्भवतः आगामी फिल्ममा देख्न पाउने छैनन् । अहिले पानी बाराबारको अवस्था छ । रेखा आफ्ना फिल्ममा नयाँ हिरोलाई जोडी बनाउने धुनमा छिन् भने आर्यन छवि ओझाको पछिल्लो 'लज्जा' फिल्ममा शिल्पा पोखरेलसँग जोडी कस्दैछन् ।
यो बर्ष रिलिज भएको फिल्म 'महसुस'ले मिडियामा जति चर्चा पायो यो फिल्मका जोडी आर्यन सिग्देल, केकी अधिकारी र बेनिशा हमाल जम्न सकेनन् । बरू फिल्मबाट केकीको एकल चर्चा अत्याधिक रह्यो । 'मधुमास'की अभिनेत्री पूजा शर्मा, 'दबाब' फिल्मकी अभिनेत्री निता ढुंगाना तथा 'कलिउड' फिल्मकी अभिनेत्री प्रियंका कार्कीसँग पनि आर्यनको जोडी जमेन । फिल्म नचलेसँग यी जोडीको चर्चा हुन नसकेको बिश्लेषण छ । 'मेरो एउटा साथी छ'को हिट जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई सम्भवतः दर्शकले नेपाली नयाँ वर्षमा देख्न पाउने छन् । यो जोडीको फिल्म 'नोभेम्वर रेन' नेपाली नयाँ वर्षमा प्रदर्शन हुँदैछ ।
वर्ष २०१३ मै प्रदर्शन भएको 'समय' फिल्ममा सुरभी जैन र विक्की मल्लको जोडी जमाउने प्रयास असफल भयो । फल्प जोडीमा ‘वाउन्सर’ फिल्मका सुष्मा कार्की र प्रशान्त गिरी पनि सामेल हुन आए । 'विन्दास २'मा सुष्मा र जीवनको जोडीले खास छाप छोड्न सकेन । त्यस्तै ‘लंका’ र ‘रावण’ फिल्ममा रेखा अभिनेत्री रेखा थापाको जोडी भएका किशोर खतिवडा ‘काली’ फिल्ममा पनि जोडी भए । व्यापारिक रुपमा ‘काली’ फिल्म ब्लकवस्टर बन्यो तर रेखा र किशोरको जोडी भने 'नोटिसेवल' नरहेको दर्शक तथा फिल्मकर्मीको प्रतिक्रिया रह्यो ।
त्यस्तै कुनै बेलाको हिट रेखा थापा र विराज भट्टको हिट जोडीलाई दर्शकले यो वर्ष हेर्न पाए । तर, रेखा विराजको जोडी नेपाली नभएर भोजपुरी फिल्ममा थियो । 'प्रतिकार' र 'दामिनी' भोजपुरी फिल्मलाई वितरकले नेपालीमा डव गरेर प्रदर्शन गरेका थिए । रेखासँग आफ्नो जोडी चल्दै गर्दा अर्की अभिनेत्री जेनिशा केसीलाई विराजले जोडी बनाएका थिए । न जेनिशा चलिन् न फिल्म नगरीमा विराज जेनिशाको जोडी नै चल्यो । जेनिशा अर्को बर्ष 'आधी बाटो' फिल्ममा यश कुमारसँग जोडी जमाउने धुनमा छिन् ।
गजबको कुरा यो छ कि, 'सुनगाभा' फिल्मबाट निशा अधिकारी र दिया मास्केको समलिंगी जोडी हिट बन्यो । फिल्म नचलेपनि यो जोडीलाई फिल्ममा रूचाएको पाईयो । फिल्म 'पदमिनी'मा निशा र अनिल थापाको जोडी भने सुपर फ्लप बन्यो । बर्षको हिट फिल्म 'रिदम'बाट कुनै जोडी जमेनन् । फिल्म 'होस्टेल' चल्यो तर जोडी जमेको चर्चा चलेन ।
'दुलही' फिल्ममा राजेश हमालसँग जोडी जमाएकी अभिनेत्री सुमिना घिमिरेले त्यसपश्चात कुनै हिरोसँग जोडी जमाउन सकेकी छैनन् । सुमिना बर्षभरी चर्चामा रहिन् तर 'नाइन ओक्लक' फिल्ममा सुमिना र ध्रुब दत्तको जोडी फ्लप बन्यो । यस्तै 'लभ फरेवर'मा पनि सुमिना र गजितको जोडी नजमेको बिश्लेषण गरियो । यस्तै 'साँघुरो' फिल्मको जोडी सुशांक मैनाली र दिया मास्केको पनि जोडी जम्न सकेन । अभिनेत्री ऋचा शर्माले पनि फिल्म 'उमा'मा आफ्नो जोडी जमाउन सकिनन् ।

