पुस २६ गते प्रदर्शन हुने फिल्म ‘बितेका पल’ को प्रचारलाई लिएर यतिखेर अभिनेत्री केकी अधिकारीलाई भ्याईनभ्याई छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म यतिखेर प्रचारको चरम विन्दुमा छ ।
पुस २६ मै प्रदर्शन हुने कमेडी फिल्म ‘छ एकान छ’ युनिटलाई पनि फिल्मको प्रचार गर्न भ्याईनभ्याई नै छ । ‘तीतो सत्य’, ‘मेरी बास्सै’ र ‘जीरे खुर्सानी’ मा फिल्मको प्रचार गर्दैमा यो युनिटलाई फुर्सद छैन । विभिन्न मेला तथा महोत्सवदेखि हरेक किसिममा कार्यक्रममा विशेष गरी दिपकराज गिरी, दिपाश्री निर्रौला र सिताराम कट्टेलले ‘छ एकान छ’ को नाम लिन छुटाएका छैनन् ।
क्रिसमसलाई छेको पारेर ‘छ एकान छ’ युनिटले दरबारमार्गका सडक बालबालिकालाई फिल्मको नाम अंकित ज्याकेट समेत बाँडेको थियो । दिनेश डिसी निर्देशित फिल्मको प्रचार तिब्र भईरहँदा फिल्मकी सोलो हिरोइन नीता ढुगाना भने निस्क्रिय जस्तै देखिएकी छिन् । नीता दरबारमार्गमा सडक बालबालिकालाई ज्याकेट बाँड्ने कार्यक्रममा होस् या तीन कमेडी टेलिश्रृङ्खलामा कहिंकतै देखिएकी छैनन् ।
किन तपाईको फिल्म प्रचारमा निस्क्रियता ? भन्ने जिज्ञासामा नीताले त्यस्तो नरहेको जवाफ दिइन् । नीताले आफु विभिन्न टिभी च्यानलहरुमा फिल्मबारे बोलिरहेको समेत बताइन् । तर, वस्तुस्थिति नीताले दाबी गरे जस्तो भने छैन । 'छ एकान छ'को प्रचार कार्यक्रममा नीताको उपस्थिति रहने गरेको छैन । फिल्मकी सोलो हिरोइन प्रचारमा सहभागी किन छैनन् ? यो प्रश्नलाई लिएर फिल्म नगरीमा गाइँगुइँ चल्न थालेको छ ।
फिल्म युनिटले नै नीतालाई प्रचारमा सहभागी गराएन या नीता सहभागी हुन चाहिनन् ? कुरोको चुरो उनीहरु नै जानुन् । फिल्म नगरीमा भने ‘छ एकान छ’ को प्रचारमा नीता छायाँमा परेको चर्चा छ । नीता कतै फिल्मको कथामा पनि छायाँमा त परेकी छैनन् ? पुस २६ सम्म पर्खने कि !

