आमिर खान स्टारर ‘धुम थ्री’ फिल्मले विश्व फिल्म बजारमा विभिन्न रेकर्ड तोड्ने क्रम जारी छ । 'धुम थ्री' हेर्न नेपाली फिल्म हलमा पनि दर्शकको बाक्लै भिड छ । चोर पुलिसको कथा भन्ने 'धुम थ्री'ले व्यापारिक रेकर्ड ब्रेक गरिरहँदा नेपाली फिल्म क्षेत्रमा पनि एउटा नयाँ रेकर्ड बसेको छ ।
वितरक सुनिल मानन्धरको भनाइलाई आधार मान्ने हो भने बजार खुला रहँदा कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शन नभएको यो पहिलो घटना हो । ‘धुम थ्री’ प्रदर्शन भएको सातादेखि हलमा नयाँ नेपाली फिल्म प्रदर्शन भएका छैनन् । मंसिरमा प्रदर्शन भएका फिल्मले हावा खाएपछि निर्माताहरु लगानी डुब्ने डरले फिल्म रिलिज गर्न पछि हटेको धेरैको बुझाइ छ । यद्पी वितरक मानन्धरले फिल्म नै नभएका कारण हलमा फिल्म प्रदर्शन नभएको दाबी गरे ।
निर्माता समेत रहेका सुनिल भन्छन्- ‘पालो प्रणाली हुँदा फिल्म प्रदर्शन गर्नै पर्ने बाध्यता थियो । पालो प्रणाली हटेपछि अहिले निर्माता बाध्यताबाट मुक्त भएका छन् ।’ गत शुक्रबार जस्तै मंसिर १२ को शुक्रबार पनि कुनै पनि हलमा नयाँ नेपाली फिल्मका निर्माताले प्रदर्शनको तयारी थालेका छैनन् । यो महिनाको अन्तिम शुक्रबार मात्रै ५ नेपाली फिल्मले प्रदर्शनको तयारी गरिरहेका छन् । प्रदर्शन हुने फिल्म मध्ये 'छ एकान छ' र 'बितेका पल' चर्चामा छन् ।

