बर्ष ०६९को सुरूवातदेखि ०७० को असार मसान्तसम्म दर्जनौं फिल्म गीत बजारमा आए । तर, सबै गीत दर्शक तथा श्रोताले गुनगुनाउने खालका हुन सकेनन् । राम्रा मानिएका कति गीत हिट हुन सकेनन् तर जति हिट भए तीनै सर्जक उत्कृष्ट संगीतकार बन्न सफल भएका छन् ।

फिल्म ‘नोटवुक’ को ‘गाला रातै’ गीतलाई दर्शक तथा श्रोताले सर्वाधिकले रुचाए भने ‘रिदम’ फिल्मको ‘पागल म बन्न सक्छु’ बोलको गीतलाई पनि उत्तिकै रुचाएको पाइयो । गीतकै कारण यी दुई फिल्मको व्यापारमा बढ्न गएको कतिपयको विश्लेषण छ । त्यस्तै ‘मायाज बार’ फिल्ममा समावेश गीतले पनि एक समय राम्रैसँग बजार पिट्यो । ‘मेरो जीवन साथी’ फिल्म त्यती चलेन तर फिल्ममा समावेश गीत भने चले । ‘मञ्जरी’ फिल्ममा समावेश गीत सुन्नेले निकै रूचाए ।
फिल्ममा समावेश गीतको बजार हेरेरै स्टार एफ.एमले आफ्नो पहिलो संस्करण अर्न्तगतको ‘म्युजिक अवार्ड २०७०’ को उत्कृष्ट पाँच फिल्म संगीतकारको नोमिनेशन सार्वजनिक गरेको छ । जसमा हिट फिल्मी गीतका संगीतकार अर्जुन पोखरेल (मेरो जीवन साथी) तथा बसन्त सापकोटा ‘नोटवुक’ र ‘रिदम’ गरी दुई फिल्मबाट नोमिनेशनमा परेका छन् । कालिप्रसाद बाँस्कोटा ‘मञ्जरी’ र सुरेश अधिकारी ‘मायाज बार’ फिल्मबाट उत्कृष्ट फिल्म संगीतकारको प्रतिस्पर्धामा छन् ।
गायक गायिका तथा रचनाकार पनि हिट फिल्मबाट उत्कृष्ट पाँचको नोमिनेशनमा परेको छन् । फिल्म ‘विन्दास’ को ‘बाटो मोडेर गयौ’ बोलको गीतबाट अमृत रेग्मी, 'रिदम' फिल्मको ‘पागल म बन्न सक्छु’बाट कृष्णहरी वराल, ‘धुवाँ यो नशा’ फिल्मको ‘बाँध न बाँध’ बोलको गीतबाट नरेश भट्टराई, ‘मायाज बार’ फिल्मको गीत ‘कुन दिनमा बाँधेछु’बाट सुरेश अधिकारी र ‘नोटवुक’ फिल्मको ‘मायाको भुल भुलैया’ बोलको गीतबाट स्वप्नील वराल उत्कृष्ट गीतकारको नोमिनेशनमा परेका छन् ।
उत्कृष्ट पाश्र्व गायनतर्फ दिपक लिम्वु ‘हमेशा’ फिल्मको शिर्ष गीत, प्रल्हाद तिमल्सीना ‘नोटवुक’ फिल्मको ‘गाला रातै’, राजेश पायल राइ ‘मायाज बार’ फिल्मको ‘सर सर’, शिव परियार ‘विन्दास’ फिल्मको ‘बाटो मोडेर गयौ’ र स्वरुपराज आचार्य ‘रिदम’ फिल्मको ‘पागल म बन्न सक्छु’ बाट उत्कृष्ट हुने प्रतिस्पर्धामा छन् । पाश्र्व गायिका तर्फ भने अञ्जु पन्त ‘तिमिसँग रिसारए’ (मेरो जीवन साथी), दुर्गा परियार ‘कुन दिनमा बाँधेछु’ (मायाज बार), प्रविशा अधिकारी ‘मायाले’ (मञ्जरी), मिलन अमात्य ‘गाला रातै’ (नोटवुक) र रजिना रिमाल ‘पागल म बन्न सक्छु’ (रिदम) बाट उत्कृष्ट पाँचको नोमिनेशनमा परेका छन् ।
राष्ट्रिय, लोक, पप तथा फिल्मको संगीतसँग सम्बन्धित विभिन्न विधाका अवार्डको आयोजना माघ २० गते काठमाडौंको प्रज्ञा भवन प्रतिष्ठानमा सम्पन्न हुनेछ ।

