पुसको जाडोमा सडक बालबालिकालाई 'छ एकान छ' युनिटले न्यानो ज्याकेट बाँडेको छ । दरबारमार्गका सडक बालबालिकालाई फिल्मको नाम अंकित करिब एक सय ज्याकेट बाँडिएको हो ।

शहर क्रिसमसमय भैरहंदा सडक बालबालिकालाई न्यानो ज्याकेट बाँड्न दरबारमार्गमा निर्माता तथा कलाकार दिपाकराज गिरी, दिपाश्री निर्रौला, कलाकार सिताराम कट्टेल ‘धुमुर्स’, निर्माता निर्मल शर्मा, कलाकार कविता शर्मा लगायत उपस्थित थिए । समाजिक सहयोगसँगै फिल्मको प्रचार हुने हुँदा यसो गरिएको दिपाले बताइन् । दीपाले भनिन्- ‘उनीहरुलाई हामीले न्यानो ज्याकेट लगाएर फिल्म हेर्न आउनु भन्यौं ।’
कमेडी फिल्म 'छ एकान छ' यही पुस २६ गते देशभरबाट प्रदर्शनमा आउँदैछ । तीतो सत्यका दिपकराज गिरी, मेरी बास्सैका केदार घिमिरे ‘माग्नेबुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, जिरे खुर्सानीका शिवहरी पौडेल ‘मुखा हान्नु जस्तो’, जितु नेपाल ‘मुन्द्रे’ र भिजे सन्दिप क्षेत्रीको फिल्ममा मुख्य भूमिका छ । दिनेश डिसी निर्देशित फिल्मकी सोलो हिरोइन नीता ढुङ्गाना हुन् ।
पुस २६ मै रिलिज हुने अर्को सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’ पनि प्रचारको मैदानमा छ । ‘बितेका पल’ मा केकी अधिकारी, बाबु बोगटी र अभिनाश गुरुङको मुख्य अभिनय छ । प्रतिस्पर्धाको मैदानमा उत्रिएका यी दुई फिल्मलाई लिएर फिल्म बजारमा यतिखेर चर्चा छ ।

