बलिउड स्टार आमिर खानको ‘धुम थ्री’ फिल्मले उधुम मच्याइरहेको शहरमा क्रिसमस डेको रौनक पनि चल्दैछ । काठमाडौं शहरमा क्रिसमसको अघिल्लो साँझ फिल्म हल भन्दा होटल तथा रेष्टुरेन्ट बढी चले । शहरमा क्रिसमस इभ (क्रिसमस साँझ) खुवै चल्ने गर्दछ ।
हिजोको साँझमा नन क्रिस्चियन नेपाली सेलिव्रेटीले पनि खुवै रमाइलो गरे । अभिनेत्री प्रियंका कार्कीसँग अमेरिकामा हुँदा क्रिसमस इभ मनाएको रमाईलो अनुभव छ । प्रियंका सम्झिन्छिन्- ‘पूरै शहर बत्ती नै बत्ती हुन्थ्यो । हामी एक अर्कामा उपहार आदान प्रदान गरेर खुसी साट्थ्यौं ।’ काठमाडौं शहरमा भने प्रियंकाले क्रिसमसको उल्लास केही कम भएको महसुश गरिन् । प्रियंकाको ठम्याइ छ- ‘यहाँ दशैं र तिहारलाई बढी महत्व दिइन्छ । दशैं र तिहारको स्थान लिन क्रिसमस डेलाई समय लाग्नेछ ।’
अमेरिकमा क्रिसमस आउँदा प्रियंकालाई तिहार आए झैं लाग्थ्यो रे ! प्रियंकाले अमेरिकामा हुँदा थुप्रै तिहारलाई मिस गरेकी छिन् । फिल्ममा व्यस्त भएपछि प्रियंका अमेरिकालाई छोडेर नेपाल बस्न थालिन् । तर, उनले अमेरिकामा मनाउने क्रिसमस नेपालमै गज्जवसँग मनाइन् । हिजोको आधा जसो रात प्रियंकाले क्रिसमस इभको इभेन्ट्समा बिताइन् । दरबारमार्गको होटल अन्नपूर्णमा आयोजना गरिएको क्रिसमस इभ पार्टीमा प्रियंकाले खुवै मजा लिइन् । प्रियंका भन्छिन्- 'हामीले एक अर्काको धर्म तथा संस्कारलाई सम्मान गर्न सिक्नु पर्छ । क्रिसमस पनि यसको उदाहरण हो ।'
‘अन्दाज’ डेव्यु अभिनेता सविन श्रेष्ठको पनि हिजोको आधा रात दरबारमार्गको रेष्टुरेन्टमा रमाइलो गर्दैमा वित्यो । काठमाडौंका रैनाथे सविनले यस वर्षबाट मात्रै क्रिसमस इभको मज्जा लिन थालेका हुन् । सविनले सुनाए- ‘साथीहरुसँग मिलेर रमाइलो गरियो । धर्म भन्दा पनि म यसलाई रमाइलो गर्ने अवसरका रुपमा लिएको छु ।’ भर्खरै पूर्वी क्षेत्रमा ‘संजोग’ फिल्मको पहिलो चरणको सुटिङ सकाएका सविनले क्रिसमस डेमा पनि साथीहरुसँग रमाइलो गर्ने साँझमा निस्कंदै छन् ।
फिल्मीखबर डट कमको तर्फबाट क्रिसमस पर्वमा रमाउने सम्पूर्णलाई 'मेरी क्रिसमस !'

