अव्यवसायिक फिल्म क्षेत्रका फिल्मकर्मीहरु व्यावसायिक हुने कुरै भएन । यहाँ रातारात हिरो हिरोइन बन्नेहरुको लर्को लामै छ । शून्य योजनामा पैसा खन्याएर निर्माता बन्नेहरुको त हिसाब राखेर साध्यै छैन ।
फिल्मको मेरुदण्ड मानिने निर्देशक पनि फिल्मप्रति त्यती जिम्मेवार छैनन् । उनीहरु छिन भरमै कथाको पात्र छानिदिन्छन्, चुड्कीको भरमा छानिएका ती कलाकारले फिल्मको कथा अनुसारको पात्रलाई कसरी न्याय गर्लान् ?
पछिल्लो समय फिल्म निर्देशनमा व्यस्त रहेका निर्देशक ऋषि न्यौपानेले पनि चुड्कीको भरमा फिल्मको पात्रलाई छानेका छन् । यसै साताबाट चितवनदेखि सुटिङ प्रारम्भ गरिएको फिल्म ‘जोश’ को खबर यो हो । मूहर्तसम्म ‘जोश’ की अभिनेत्री महिमा सिलवाल थिइन्, सुटिङ सुरु गर्दा भने हिरोइनको रुपमा अर्की अभिनेत्री जेनिशा केसी छानिइन् । किन त ?
रातारात हिरोईन परिवर्तनको बिषयमा निर्देशक न्यौपानेले भने- 'महिमाजी साँस्कृतिक कार्यक्रम लिएर अष्ट्रेलिया उड्नु पर्ने भएपछि जेनिशाजीलाई राखेका हौं ।' यो त अव्यवसायिकपन भएन र ? निर्देशक न्यौपानेको प्रष्ट्याइ छ- 'सहमतीमै इन आउट भएको हो । महिमाजीलाई फिल्ममा भन्दा अष्ट्रेलिया जाँदै फाइदा पुग्ने देखेर यस्तो गरिएको हो ।'
फिल्म खेल्दा भन्दा साँस्कृतिक कार्यक्रममा जाँदा पाउने दोब्बर पारिश्रमीक रकमकै कारण महिमाले फिल्म छोडेको निर्देशकको भनाई छ । मोटो रकम पाएपछि महिमा ‘जोश’ छाडेर एक महिनाको लागी क्रिसमस डे मै अष्ट्रेलिया उड्दैछिन् । यता अभिनेत्री सिलवालले अष्ट्रेलियाको भिसा लागेपछि चाहेर पनि फिल्म खेल्न नपाएको बताईन् । मलेसियाको कार्यक्रम परेकै कारण ‘जोश’ बाट अनु शाहले हात झिकेकी थिइन् ।

