'फेडरेशन अफ फिल्म सोसाईटिज नेपाल'का अध्यक्ष राजेश गोङ्गजुले ६ औं ‘ब्याङ्ग्लोर अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’ मा निर्णायक सदस्यको भूमिका निभाउने अवसर पाएका छन् ।
नेपाली फिल्मकर्मीले उक्त फेस्टिभलमा निर्णायक सदस्यको अवसर पाएको यो पहिलो हो । फिल्म अफ द् वल्र्ड, एशियन फिल्म र इन्डियन फिल्म मध्ये गोङ्गजुले एशियन फिल्मको निर्णय गर्नेछन् । गोङगजु ‘इन्टरनेशनल फेडरेसन अफ फिल्म सोशाइटीज’ का सचिव समेत हुन् । एशियन फिल्मको जुरीमा उनीसँगै श्रीलंका र भारतका जुरी सदस्य रहनेछन् ।
यसअघि विभिन्न अर्न्तराष्ट्रिय फिल्म महोत्सवका निर्णायक बन्ने अवसर पाइसकेका गोङ्गजु आज साढे २ बजेको फ्लाइटमा ब्याङ्ग्लोरतर्फ उड्दैछन् । भारतको दोस्रो ठुलो फिल्म महोत्सवमा निर्णायक हुने अवसर कसरी पाउनु भयो ? भन्ने प्रश्नमा उनले फिल्मीखबर समक्ष भने- ‘अर्न्तराष्ट्रिय छवि र फिल्म सम्बन्धी ज्ञानलाई आधार बनाउँदै मलाई त्यहाँ आमन्त्रण गरिएको हो ।’
गोङ्गजुसँगै फेस्टिभलमा विश्वका ४६ राष्ट्रबाट चालिस जना विशेष फिल्मकर्मीहरुलाई आमन्त्रित गरिएको छ । डिसेम्वर २६ देखि २०१४ को जनवरी २ तारिखसम्म चल्ने फिल्म फेस्टिभलमा विश्वका १ सय ५५ फिचर फिल्महरु समावेश छन् ।

