नेपाली फिल्ममा हुने लगानी, फिल्मले गर्ने व्यापार र कलाकारले पाउने पारिश्रमिक उच्च छैन । नेपाली फिल्मको सदरदर बजेट चालिसदेखि पचास लाख पर्न आउँछ । कलाकारको पारिश्रमिक रकम कति हुन्छ ? नातावाद र कृपावादमा चलेको नेपाली समाज जस्तै नेपाली फिल्म क्षेत्रममा पनि त्यही परिपाटी हावी भएको देखिन्छ ।
कुनै पनि कलाकारले आफ्नो पारिश्रमिक रकम यति नै हो भनेर तोक्न सकेका छैनन् । घाटामा रहेको फिल्म बजारमा कलाकारले आफ्नो रेट तोकर काम गर्नु आफ्नै लागी घातक हुन जान्छ । फिल्म चल्न छोडेपछि र फिल्म क्षेत्रमा आफु असुरक्षित हुँदै गएको महसुश गर्न थालेपछि चल्तीका कलाकार समेत अन्य व्यापार व्यवसायतिर हात बढाएका छन् । यो असुरक्षा हो कि आवश्यकता हो ? उनीहरु नै जानुन् ।
कुनै बेला सुटिङ गर्न भ्याइ नभ्याइ हुने हुने अभिनेता श्रीकृष्ण श्रेष्ठले 'कहाँ भेटिएला'की हिरोइन श्वेता खड्कासँग मिलेर होटल सञ्चालन गर्दै आएका छन् । केही बर्षदेखि होटल सञ्चालन गर्दै आएका अभिनेता श्रेष्ठले श्वेतालाई नै लिएर 'कोहिनुर' फिल्म निर्माण गर्दैछन् । पोष्ट प्रोडक्सनमा रहेको फिल्मका निर्देशक आकाश अधिकारी हुन् । त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता कर्म र रेमनदाश श्रेष्ठ मिलेर एटिक बार सञ्चालन गरेको पनि धेरै वर्ष भैसकेको छ ।
‘अध्याय’ की सिम्पल खनाल र ‘अन्तराल’ की नम्रता श्रेष्ठ मिलेर केही वर्ष अघि बुटिक सञ्चालनमा ल्याएका थिए । अभिनेता मुकेश आचार्यले रेष्टुरेन्ट व्यवसाय सुरु गरेको धेरै समय भएको छैन । अर्का अभिनेता मुकेश ढकालले पनि केही बर्षदेखि फर्निचर सेन्टर सञ्चालन गर्दै आएका छन् । मुकेश अहिले फिल्म भन्दा व्यवसायमा नै व्यस्त छन् । त्यस्तै ठुलो पर्दामा फड्को मार्दै गरेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि केही अघिदेखि मात्रै बङ्गुर मार्फ सञ्चालनमा ल्याएका छन् । सितारामले सञ्चालन गरेको बङ्गुर पालन व्यवसायले धेरैलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
‘चपली हाइट’ की सेक्सी गर्ल विनिता वरालले तरकारी खेती सुरु गर्दा चर्चा र विभिन्न खाले टिकाटिप्पणी समेत भएका थिए । करिब डेढ वर्ष अघि निर्माता बन्ने दौड गर्दा नायक बन्न पुगेका निर्मल सेन्चुरीले पनि सुन व्यवसाय सञ्चालनमा ल्गाएका छन् । सुकेधाराको निलोपुल नजिकैको ‘श्री लक्ष्मी ज्वलर्स’ को आज मात्रै शुभारम्भ गरियो । करिब चालिस लाखको लगानीमा खोलिएको उक्त ज्वलर्सलाई निर्मलले करिअरको सेफ ल्यान्डको रुपमा परिभाषित गरे । झ
यी त केही उदाहरण मात्रै पेश गरिएका हुन् । नेपाली फिल्म क्षेत्रका हरेक जसो कलाकार कुनै न कुनै पेशासँग आवद्ध छन् । कतिपयले भने फिल्मकर्मीले सञ्चालन गर्दै आएको यस खालको व्यवसायलाई फिल्मप्रति देखिएको असुरक्षासँग जोडेर हेरेका छन् । व्यवसायी कलाकारले भने आवश्यकता रहेको बताउँछन् ।

