अहिले विश्व फिल्मी बजार धुममय भएको छ । आमिर खान स्टार हिन्दी फिल्म 'धुम ३'ले विश्वका पर्दामा विभिन्न रेकर्ड व्रेक गर्दै सानदार कलेक्सन गरिरहेको छ । नेपाली शहरका मल्टिप्लेक्समा मात्रै हैन मोफसलका सिङ्गल पर्दा पनि धुममय बनेको छ ।
लाग्छ, नेपाली दर्शकहरु धुम पर्व मनाइरहेका छन् । धुमले उधुम मच्याउने भएपछि गत शुक्रबार निर्माता तथा वितरकले कुनै पनि नेपाली फिल्म प्रदर्शन गर्ने जमर्को गरेनन् । सम्भवतः यो महिनाको बाँकी २ वटा शुक्रबार कुनै पनि फ्रेस नेपाली फिल्म प्रदर्शन हुने छैनन् । नेपाली फिल्मलाई रोकेर हिन्दी फिल्म प्रदर्शन गरेकोमा केही फिल्मकर्मी तथा शुभेच्छुकले यो पद्धतीप्रति रोष पोखेका छन् ।
नेपाली फिल्म क्षेत्रको हकहितका लागी स्थापना भएका चलचित्र निर्माता संघ, चलचित्र संघ, निर्देशक समाज जस्ता संस्थाले भने फिल्म घर नेपाली फिल्म विहिन हुँदा औपचारिक रुपमा कुनै खालको आवजा उठाएका छैनन् । नेपाली फिल्म रोकेर हिन्दी फिल्म प्रदर्शन गर्दा किन उनीहरु मौन छन् ? ‘नेपाली फिल्मलाई हिन्दी फिल्मका माफियाबाट मुक्त गर्’ भन्दै नारा लगाउनेहरू कहाँ हराए ?
विश्व फिल्म बजार धुममय भैरहँदा कुन नेपाली फिल्मले नेपालमा धुम मच्याउला ? नेपाली फिल्मकर्मी यसकै पर्खाइमा छन् । तर, त्यो दिन कहिले आउला ? प्रतिक्षा गरौं ।

