सुनिल थापा रजतपटका चर्चित खलपात्र हुन् । फिल्म ‘चिनो’ मा निभाएको ‘राते काइँला’ नामको भूमिकाले उनलाई रजतपटमा डरलाग्दो खलपात्रका रुपमा स्थापित गरायो । नेपाली फिल्मका यी डरलाग्दा खलपात्रलाई अब हिन्दी फिल्ममा पनि देख्न पाइने भएको छ ।
संजयलीला भंन्साली ब्यानरको 'मेरी कोम' फिल्ममा सुनिल अभिनेत्री प्रियंका चोपडाको गुरुको भूमिकामा प्रस्तुत हुँदैछन् । बलिउड फिल्ममा सुनिलको प्रवेश पहिलो भने होइन । सुनिलले ‘चिनो’ फिल्म खेल्नु पूर्व २८ वर्ष अगाडी नै बलिउडका फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गर्ने अवसर पाइसकेका छन् । सुनिलद्धारा अभिनित बलिउड फिल्म 'एक दुजे के लिए', 'आजकी आवाज', 'मानव हत्या' जस्ता फिल्ममा अभिनय गरेका छन् ।
‘चिनो’ मा उनले निभाएको राते काइँला खलपात्रको भूमिका चर्चित बनेपछि भने उनी नेपाली फिल्ममै व्यस्त भए । यशराज ब्यानरबाट ‘मेरी कोम’मा अभिनय गर्ने प्रस्ताव आएपछि सुनिल मुम्बइतर्फ लागे । २८ वर्ष पछिको बलिउडको कुन पक्षमा फरक पाउनु भयो ? उनले पत्रकार विदूर गिरीसँग अनुभव साटे- 'पहिला र अहिलेको बलिउड आकाश पातालको फरक छ । सेटमा गएपछि सबैले आफ्नो स्टारडम भुल्दा रहेछन् । सबैको कर्तव्य भनेको सुटिङ गर्नु हो ।'
पहिलो चरणको सुटिङ सकेर सुनिल अभिनेता अर्पण थापाको फिल्म 'मुखैटा'मा अभिनय गर्न भन्दै नेपाल फर्किएका छन । प्रदर्शन मिति नतोकीएको 'मेरी कोम'को बाँकी सुटिङका लागी सुनिल फेब्रुअरीमा मुम्बइतर्फ लाग्नेछन् । नेपाली फिल्ममा झन्डै ३ दशक बिताएका सुनिल अबको दिन भने बलिउडमै बित्ने सम्भावना बढेर गएको छ । पारिश्रमीक चित्त बुझ्दो हुने बलिउडका यशराज सहित अन्य ब्यानरका फिल्मको आँखामा उनी परिसकेका छन् ।
सुनिल सुनाउँछन्- 'बलिउडका अन्य फिल्मको लागी पनि कुरा भैरहेको छ । तर, म नेपाली फिल्मलाई माया मार्ने पक्षमा भने छैन ।' ६ औं नेफ्टा अवार्डको तयारीको लागी यतिखेर मलेसियामा पुगेका सुनिलले रंगमञ्च तिर पनि आफुलाई देख्न सक्ने सभाव्यता बारे पनि खुलाएका छन् ।

