आशा गरिएका फिल्मले त्यतीबेला निराशा पारिदिन्छन् जतिबेला हलको टिकट काउन्टरमा आँकलन गरिएभन्दा निकै कम दर्शक फिल्म हेर्न लाइन लाग्छन् । नेपाली फिल्म क्षेत्रमा आशा गरिएका धेरै फिल्मका निर्माता तथा निर्देशकले निराशा भोग्नु परेको छ । त्यसैले फिल्म क्षेत्रमा आशातित् फिल्मको नाम लिनुपर्दा धेरैपटक सोच्नु पर्ने समय आएको छ ।
‘सास रहुञ्जेल आश रहन्छ’ भनेझैं जबसम्म फिल्म निर्माण हुने प्रक्रिया जारी रहन्छ तबसम्म केही फिल्म माथि आश भने कायमै हुन्छ । प्रदर्शनको क्रममा रहेका फिल्मबारे दर्शकको बुझाइ तथा विचार के छ ? यो एउटा लामो अनुसन्धानको विषय हुन सक्ला । तर, हामीले यहाँ प्रस्तुत गरिएका यो बर्ष भित्र रिलिज हुने आशातित् फिल्म भने फिल्म नगरीका व्यक्तिहरुको प्रतिक्रियामा आधारित रहेर उल्लेख भएका हुन् ।
पौष २६ गते प्रदर्शन हुने 'छ एकान छ' र 'बितेका पल' फिल्मले बिजनेश राम्रो गर्ने बढी सम्भावना देखाएका छन् । हाँस्य कलाकारको जमघट भएको 'छ एकान छ'ले निर्मातालाई हँसाउने धेरैको आशा छ । कमेडी फिल्ममा दिपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, सितारमा कट्टेल, सन्दीप क्षेत्रीको मुख्य भूमिका छ । निता ढुङ्गाना सोलो हिरोइन रहेको फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपक सहित दिपाश्री निर्रौला र निर्मल शर्माको लगानी छ ।
त्यस्तै पौष २६ मै दर्शक रूवाउन आउन लागेको फिल्म 'बितेका पल'ले निर्मातालाई हँसाउने अपेक्षा गरिएको छ । सफल फिल्म 'बाटो मूनिको फूल' र 'सायद' फिल्मबाट राम्रो प्रतिक्रिया बटुलेका निर्देशक सुरज सुब्बा नाल्बो निर्देशित फिल्मले दर्शकलाई हलसम्म तान्ने धेरैको विश्वास छ । सत्य प्रेमकथाको फिल्ममा केकी अधिकारी, अभिनाश गुरुङ र बाबु बोगटीको मुख्य भूमिका छ । फिल्मका निर्माता राजेश घतानी र अमेरिकी नागरिक क्रिस रिजाल हुन् । फिल्ममा समावेशले बजारमा चर्चा पाउँदै गएको छ ।
नेपाली नयाँ बर्ष छोप्न आउन लागेको 'लुट' निर्देशक निश्चल बस्नेतको दोस्रो फिल्म 'टलक जंग भर्सेस टुल्के'लाई राम्रो गर्ने सक्ने फिल्मको रुपमा हेरिएको छ । 'लुट' निर्देशकको फिल्म कस्तो होला ? दर्शकमाझ पनि उत्सुक मानसिकता रहेकाले 'टलक जंग भर्सेस टुल्के'को कमाइ राम्रो हुन सक्ने धेरैको आँकलन छ । फिल्ममा 'लुट'कै दयाहाङ राई र ऋचा शर्मा बाहेक सुशांक मैनाली, खगेन्द्र लामिछाने लगायतको अभिनय छ । फिल्मका निर्माता निर्देशक बस्नेत र रबिन्द्र सिंह बाँनिया हुन् ।
त्यस्तै दर्शकको मनोभावनालाई बुझेर फिल्म बनाउने भनी चिनिएका विकास आचार्यको फिल्म 'नाइ नभन्नु २'लाई पनि फिल्म नगरीमा दर्शक तान्न सक्ने फिल्मको रुपमा आँकलन गरिएको छ । निर्देशक आचार्यका अघिल्ला 'नाइ नभन्नु ल' र 'रिदम' फिल्म हिट हुनुमा गीतको महत्वपूर्ण भूमिका रह्यो । तर, बालप्रेमको कथालाई भन्ने यस फिल्मको गीत तथा प्रोमो सार्वजनिक भैनसकेकाले ‘फिल्म चल्छ या चल्दैन ?' अनुमान मात्र लगाउन सकिन्छ । चैत्र २८ गते रिलिज हुने 'नाइ नभन्नु ल २'मा जीवन लुइँटेल, अनुभव रेग्मी, प्रियंका कार्की, सुरजसिंह ठकुरी, वर्षा सिवाकोटी, सरोज खनाल, शिरू बिष्टको अभिनय छ ।
चैत्र २८ मै रिलिज गर्ने बताईएको छवि ओझाको 'लज्जा', फाल्गुन ९ गते रिलिज हुन लागेको डार्क कमेडी फिल्म 'झोले', माघ २४ गते रिलिज हुन लागेको साँगीतिक फिल्म 'मोक्ष', माघ १७ गते रिलिज मिती तय गरिएको निर्माताको पीडालाई उठाएको कमेडी फिल्म 'प्रोड्यूसर', भ्यालेन्टाईन डे अर्थात फाल्गुन २ गते आउने बताईएको नम्रता श्रेष्ठको अभिनय रहेको फिल्म 'मेघा', चैत्र २१ गते रिलिज हुने बताईएको एक्सन फिल्म 'मिसन पैसा रिलोडेड' लाई पनि सकारात्मक रूपमा हेरिएको छ ।
जुन पक्षलाई कारण बनाएर फिल्म चल्ने अपेक्षा गरिएपनि फिल्मको खास क्रेज हलमा आएपछि मात्रै पत्ता लाग्नेछ । त्यसैले, फिल्म राम्रो चल्ने आश मात्रै गर्न सकिन्छ, भरोसा त भगवानलाई पनि गर्न सकिन्न !

