नेपाली फिल्मका बरिष्ठ निर्देशक शिव रेग्मीको आज १३ औं दिनको पुण्य तिथीमा शोकसभा गरिएको छ । उनको निवास भरतपुर नगरपालिका ४ बाह्घरेमा नेपाली चलचित्र निर्देशक समाजले उनले नेपाली फिल्ममा पुर्याएको योगदानको स्मरण गर्दे शोकसभा आयोजना गरेको हो ।
शोकसभामा नेपाली फिल्मकर्मी एवं कलाकारहरुको उपस्थिती रहेको थियो । शोकसभामा उपस्थित भएकाहरु स्वर्गिय रेग्मीका बारेमा चर्चा चलेपछि भावविह्वल भएका थिए । शोकसभामा फिल्मकर्मीहरुले स्वर्गिय रेग्मी अब यो संसारमा नभएपनि उनको योगदान र फिल्मको बिकासका लागि पुर्याएको योगदानले उनी सधै अमर रहने उल्लेख गरे ।
शोकसभामा नेपाली चलचित्र कलाकार संघका उपाध्यक्ष कलाकार लक्ष्मी गिरीले स्वर्गिय रेग्मीका बारेमा तयार पारेको कविता सुनाईन् । उनले कविता भन्दै गर्दा सबैको आँखा रसाएका थिए । कविताका माध्यमबाट उनले स्वर्गिय रेग्मी सधैका लागि अमर रहेको र सबैको मनमा उनी रहने बताईन् ।

शोकसभाका प्रमुख अतिथी नारायणी कला मन्दिरका पूर्व अध्यक्ष एवं गीतकार प्रसाद श्रेष्ठले नेपाली फिल्म र बिशेष गरि निर्देशनको क्षेत्रमा स्वर्गिय रेग्मीको अभावमा हुने क्षती कहिल्यै पनि पुर्न नसकिने बताए । रेग्मी अत्यन्तै प्रतिभाशाली र शालिन ब्यक्ति भएको बताउदै उनको अभाव सदैब खड्किरहने श्रेष्ठले बताए ।

यस्तै शोकसभामा रेग्मी प्रतिष्ठानका संयोजक राजेन्द्र उप्रेतीले प्रतिष्ठानले हरेक बर्ष उत्कृष्ट लेखन, निर्देशक तथा बर्षका उत्कष्ट गीतिनाटकलाई पुरस्कृत गरिने बताए । रेग्मीको गत मंसिर २४ गते उपचारका क्रममा काठमाण्डौको बयोधा अस्पतालमा ४९ बर्षको उमेरमा निधन भएको हो ।

