पुस पहिलो सातासम्म आउँदा दुई फिल्म फिल्म लगानी उठाएर केही नाफा हात पार्ने फिल्म बनेका छन् । ती भाग्यमानी फिल्म हुन् 'होस्टेल' र 'काली' । नवनिर्देशक हेमराज विसी निर्देशित 'होस्टेल' फिल्म सफल हुनुमा विशेषतः युवा दर्शकको उल्लेख्य साथ रह्यो ।
उसो त फिल्म पनि शिर्षक अनुसारकै होस्टेल बस्ने विद्यार्थीहरुको कथा माथि निर्माण भएको थियो जसलाई युवा दर्शकले मन परेको प्रतिक्रिया दिएका थिए । 'होस्टेल' फिल्मले निर्मातालाई फाइदा मात्रै गराएन अभिनेता भुवन केसीका पुत्र अनमोल केसीलाई अपकिमङ स्टार बन्न सक्ने सम्भावना समेत देखाइदियो । अभिनयसँगै अनमोलको लुक्सले उनी वर्तमान नेपाली फिल्ममा स्टार बन्न सक्ने धेरैको अनुमान थियो ।
होस्टेलका अन्य मुख्य दुई पात्र गौरव पहारी र सलोन बस्नेतको अभिनयलाई दर्शकले रुचाएपनि फिल्मकर्मीले भने अनमोल भन्दा कम मूल्याकंन गरेका थिए । गौरव र सलोन भन्दा अनमोल फिल्ममा व्यस्त हुने धेरैको अनुमानले त्यतीबेला फेल खायो जतिबेला भुवन पुत्र आराम गरिहंदा गौरव र सलोन भने फिल्मको सुटिङमा व्यस्त भैदिए । कलाकार टिका पहारीका पुत्र गौरव पहारी फिल्म 'उत्सव'को सुटिङ सकेर 'अधकट्टी' फिल्मको सुटिङमा पस्ने तयारी गर्दैछन् ।
निर्देशक शोभित बस्नेतका पुत्र सलोन बस्नेत हाल 'एउटा साथी' फिल्मको छायाँकनमा व्यस्त छन् । गौरव र सलोनलाई अन्य ब्यानरका फिल्म खेल्ने पनि प्रस्तावको पनि ओइरो लागेको बुझिएको छ । अनमोल भने होस्टेल निर्माताको अर्को प्रोजेक्ट बाहेक अन्य प्रोजेक्टमा व्यस्त हुने खबर छैन । गौरव र सलोनको व्यस्ततामा अनमोलले किन विश्राम पाए ? 'पिताले जस्तै फिल्म नगरीमा हिट हुने विश्वास लिएर फिल्म लाइनमा प्रवेश गरेका अनमोल सामाजिक होऊ,' निर्माता निर्देशक यसै भन्छन् ।

