Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`विकास बोर्ड खारेज हुनुपर्छ` : निर शाह

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

बरिष्ठ फिल्मकर्मी निर शाहले चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् । बिहिबार राजधानीमा निर्देशक समाजले आयोजना गरेको 'चलचित्र र प्रतिलिपि अधिकार' बिषयक एक दिवसीय गोष्ठीमा बोल्दै शाहले अबको संसद भवनमा यसको माग गरिने बताए ।

 

बोर्डमा कुनैपनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता नरहेको भन्दै शाहले निष्क्रिय बोर्ड रहनुको अर्थ नरहेको बताए । बोर्डले बर्ष ०७०मा धरानमा आयोजना भएको फिल्म महोत्सवमा अनावश्यक खर्च सहित अन्य उपलब्धी बिहिन खर्च गरेकोमा व्यङ्ग्य गर्दै शाहले भने - 'सक्दो पैसा खर्च गर्दै जानुहोस् ।' स्मरण रहोस्, निर शाह पुन: बोर्डको अध्यक्ष हुन लागि परेका थिए ।

 

नेपाल चलचित्र निर्देशक समाजले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयसँग मिलेर आयोजना गरेको प्रतिलिपी अधिकार बिषयक एक दिने गोष्ठीमा उठाईएको बौद्धिक प्रतिलिपि अधिकारको मुद्दालाई सम्बोधन गर्दै शाहले कलाकार सहित प्राबिधिकको पनि बौद्धिक अधिकार सुनिश्चित गरिनुपर्ने माग राखे । 'बौद्धिक सम्पत्तिको संरक्षण हरेक पक्षको हुनुपर्छ,' शाहले भने- 'चेनको रूपमा गाँसिएको बौद्धिक सम्पत्तिलाई सुक्ष्म रूपले अध्ययन गरिनुपर्छ ।'

 

 

चलचित्र संघका महासचिव प्रदीप उदयले निर्देशकको बौद्धिक अधिकारको हनन गर्न नमिल्ने भन्दै फिल्मको हरेक सामाग्रीमा नाम राख्नै पर्ने बताए । उनले सम्पत्तिको अधिकार जस्को हुन्छ त्यसकै प्रतिलिपि अधिकार हुने धारणा राखे ।

 

निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्देशकहरूको बौद्धिक अधिकार संरक्षणका लागि सर्जकहरूलाई जागरूक बनाउन यस किसिमको गोष्ठी गरेको बताए । उनले सेन्सर सर्टिफिकेटमा निर्देशकको नाम नलेख्ने गरेकोमा बिगत केहि महिनादेखि समाजकै पहलमा नाम लेखिन थालेको समेत जानकारी गराए । आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने उनको धारणा थियो ।

 

 

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजना भएको गोष्ठीमा निर्देशक समाज, चलचित्र विकास वोर्ड र नेपाल प्रतिलिपी अधिकार रजिष्टार्ड कार्यालयका प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रमा छलफल भईरहेको छ । प्रस्तुत गरिएको कार्यपत्रले केहि निकास देला त ?