शहरमा जाडो बढ्दैछ, फिल्म खिच्ने क्यामेरा पनि खुल्दैछन् । यसै साता एक यूनिट फिल्म खिच्न फ्लोरमा उत्रिएको छ । निर्देशक भविन्द्र तामाङलाई काठमाडौं आसपासका स्थानमा फिल्म खिच्न भ्याइनभ्याइ ।

षौषको ठन्डीमा अभिनेत्री अशिष्मा नकर्मी र 'कलिउड' फिल्मबाट डेब्यू गरेका अभिनेता विष्णु कार्की फिल्मको सट दिनमा व्यस्त छन् । निर्देशक तामाङले अभिनेत्री नन्दिता केसी र बङ्गाली हिरो एमडी शाहदको भने पौष ५ गतेबाट मात्रै सुटिङ सुरु हुने जानकारी दिए । उनले भने- `बंगाली केटा र नेपाली केटीबिचको प्रेमकथामा फिल्म आधारित छ ।' फिल्म खेल्न बंगाली हिरो आजै काठमाडौं आउँदै गरेको उनले जानकारी दिए ।

बंगाली हिरोको जोडी भएर अभिनेत्री नन्दिता केसी प्रस्तुत हुनेछिन् । यही मंगलबारबाट सुटिङ सुरु गरिएको फिल्म यूनिट १० पछि फिल्म खिच्न कतारतर्फ उड्नेछ । कतारमा फिल्मको ७० प्रतिशत सुटिङ हुनेछ । फिल्ममा बंगाली हिरो एमडी शाहद र अन्र्तराष्ट्रिय कलाकार मञ्चले संयुक्त रुपमा लगानी गरेका छन् । फिल्मको बजेट ३५ लाखसम्म रहने जानकारी छ ।

