फिल्म सुटिङ गर्नु पूर्व निर्माताले कति रकमको जोहो गर्नुपर्ला ? ३० लाख, ५० लाख या एक करोड ? तपाइको अनुमान यहाँ फल्प खान्छ, जसरी 'कार्तिक' फिल्मका निर्माताले न्यून रकमको जोहो गर्दा सुटिङमै फल्प खाए ।
निर्माता शिव कुमार श्रेष्ठले रकम जुटाउन नसक्दा 'कार्तिक' फिल्मको सुटिङ नै रोकिएको छ । सुन्नमा आए अनुसार कार्तिक फिल्मको सुटिङ सुरु गर्दा निर्माता श्रेष्ठको गोजीमा जम्मा ३० हजार रुपैयाँ थियो । 'कार्तिक' निर्माण युनिट सहयोगको अपेक्षा सहित सुटिङका लागि चितवनको माडीतर्फ लागेको थियो । स्थानियले पनि कतिसम्म सहयोग गर्ने ? स्थानियको असहयोग र निर्माता श्रेष्ठको खल्तीमा रकम रित्तिएपछि फिल्मको सुटिङ आधा भागमै रोकिएको छ ।
प्राप्त जानकारी अनुसार फिल्म खिच्न प्रयोग गरिएका समाग्रीहरु चितवनमै जफत गरेर राखिएको छ । खिचिएका दृश्यहरु प्रोडक्सन हाउस चाम्स इन्टरटेन्मेन्टमा थन्काएर राखिएको स्रोतको भनाइ छ । स्रोत भन्छ- 'निर्माता सम्पर्क भन्दा बाहिर छन् । बाँकी सुटिङ भएर फिल्म पूरा हुने सम्भावना न्यून छ ।' चाम्स इन्टरटेन्मेन्टका सञ्चालक मिलन चाम्सले आफ्नो क्यामेराको भाडा पनि नतिरेको बताए ।

फिल्मकी हिरोइन अनु शाहको एक दृश्य नखिचिएपनि अभिनेता भूपेन चन्दले भने आफ्नो भागको ४० प्रतिशत सुटिङ सकिएको बताए । भूपेन आउँदो मार्च महिनामा फिल्म निर्देशनको कोर्स पढ्न अमेरिका जाने तयारी गर्दैछन् । 'जनैको साँचो' फिल्मको सुटिङमा व्यस्त भूपेनले भने- 'सहायक निर्देशक मधुसुधन निहुरेले अमेरिका उड्नु अगाडी नै सुटिङ हुने बताउनु भएको छ । उहाँहरुलाई कुरेको लामो समय भैसक्यो ।' अमेरिका जानु पूर्व फिल्मको सुटिङ नगरे आफू जिम्वेवार नहुने भूपेनको भनाई छ ।
कुमार शाहले निर्देशन गरेको यो फिल्ममा अनु र भूपेनको साथमा सुर्बिना कार्की, आकाश मगर, उमेश खड्का, राजकुमार उप्रेती, मिन घलान लगायतले अभिनय गर्दै थिए । निर्देशक कुमार पनि अहिले सम्पर्क बाहिर रहेको निर्माण युनिटका केहि सदस्यले जानकारी गराए । फिल्मको गत जेठ महिनामा मुहुर्त गरि सुटिङ शुरू गरिएको थियो ।
बिना तयारी फिल्म निर्माण गर्नेहरुले नै फिल्म बजारलाई बिगारेको एक थरीको विश्लेषण भैरहंदा 'कार्तिक' फिल्मका निर्माताको यस कार्यले फिल्म निर्माण गर्दा गोजिमा गतिलो गाँठ आवश्यक छ भन्ने कुराको सन्देश दिएको छ ।

