Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

क्रिसमस डेमा पोखरेलीलाई `झोला` उपहार

फिल्मीखबर, काठमाण्डौ, 2013/12/18

आख्यानकार कृष्ण धराबासीको चर्चित कथा 'झोला'मा आधारित रहेर बनेको फिल्म ‘झोला’को पोखरामा विशेष शो हुने भएको छ । क्रिसमस डेको अवसर पारेर पुस १० गते स्थानिय आयोजक संस्था र्‍याण्डम रिडर्स सोसाईटीले 'झोला' प्रदर्शन गर्न लागेको हो ।

 


 
बिन्ध्वाबासिनी हलमा विहानी शोमा फिल्म देखाईने आयोजकले जानकारी दिएका छन् । र्‍याण्डम पुरस्कार अक्षयकोष वृद्धिका लागि प्रदर्शन गर्न लागिएको सोसाइटीका अध्यक्ष गनेस पौडेलले बताए ।  एकल महिला र सति प्रथासँग सम्बन्धित फिल्म भएकाले मानव अधिकारका लागि महिलाः एकल महिला समूह विशेष शोको सह-आयोजक बनेको छ । समुहकी अध्यक्ष प्रमिला तझ्याले एकल महिलालाई समाजले हेर्ने नजर परिवर्तनका लागि फिल्मले भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताईन् ।
 

सति प्रथामा आधारित कथाले नेपाली जनजीवनको ऐतिहासिकतालाई प्रस्तुत गरेको निर्माणपक्षको दाबी छ । आफ्नी जिउँदी आमालाई मृत बाबुसँगै चितामा जलाउन लागिएको दृश्य बालक छोरोले हेरिरहेको मार्मिक प्रसङ्ग र चिताबाट थाहै नपाई आमा भागेकी र पछि छोरोसँगै भेट भएको कारुणिक कथाले भरिएको फिल्म काठमाण्डौमा नेपालका शीर्ष नेता, बुद्धिजीवी, सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले हेरेपछि सबै नेपालीले एकपटक हेर्नैपर्ने प्रतिक्रिया दिएका थिए ।

 

मिडिया फर कल्चरको प्रस्तुतिमा रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त लगानी रहेको फिल्ममा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडाको पनि अभिनय हेर्न सकिन्छ । फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका हुन् ।