विश्वका होचा नेपाली खगेन्द्र थापा मगरलाई केही साल अगाडी अभिनेत्री रेखा थापाले चुम्वन गरिन् । खगेन्द्रलाई रेखाले चुम्वन गरेको तस्बिरले मिडियामा राम्रै स्थान पायो ।
खगेन्द्रको चुम्वनलाई बिर्साउने गरी रेखाले गत शनिबार राउटेका एक युवकलाई चुम्वन दिइन् । उक्त तस्बिर मिडियामा प्रकाशन मात्रै भएनन्, चामल बाँड्न सुर्खेतको राउटे बस्तीमा पुगेकी रेखाले राउटे युवकलाई दिएको उक्त चुम्वन तस्बिरले विभिन्न खाले टिका टिप्पणी समेत बटुल्न पुग्यो ।
मायाले दिएको उक्त चुम्वनलाई गलत रुपमा अर्थ्याउन नहुने केहीको प्रतिक्रिया आइरहंदा सुर्खेतकै राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेखी अधिकारीले भने अभिनेत्री रेखा थापाको चुम्वनले राउटेहरु रिसाएको प्रतिक्रिया दिएकी छिन् । सत्यदेवीले राउटे मुखियाको भनाइलाई उदृध गर्दै मिडियासँग भनेकी छिन्- 'आइमाइले दिएको चुम्वन हामीलाई मन परेन । त्यस्तीले दिएको चामल हामी लिदैनौं ।'
तर, अभिनेत्री थापाले राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवीको भनाइलाई प्रतिवाद गर्दै चुम्वन गर्दा राउटे रिसाए भन्ने कुराको खण्डन गरेकी छिन् । हाल महेन्द्रनगरमा रहेकी रेखाले भनिन्- 'म राउटे समुदायको उत्थानकै लागी काम गरिरहेको छु र उनीहरुका बच्चालाई शिक्षा र नागरिकता दिने कुरा गर्दैछु भने उनीहरु कसरी मसँग रिसाउँन सक्छन् ? यो सबै गलत हल्ला हो ।'
रेखा थापा फाउन्डेशन खोलेर राउटेका बच्चालाई शिक्षा दिने र नागरिकता उपलब्ध गराउने योजना बनाएर राउटे बस्तीमा पुगेकी रेखाले थपिन्- 'जो जंगलमा बस्दै आएका छन्, उनीहरुलाई एउटी युवतीले चुम्वन दिंदा अचम्म लाग्न सक्छ । तर, चुम्वनकै कारण उनीहरु म प्रति रिसाए भन्ने कुरा गलत हो ।' बर्षौंदेखि राउटे समुदायको नाममा संस्था चलाएर आफ्नै पालनपोषण गर्दै आएका केहीले आफ्नो कामको डाह गरेको रेखाको आरोप छ ।

