Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

सबै फल्प भएपछि कस्ता फिल्म चल्छन् ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/17

नेपाली फिल्ममा के चल्छ ? 'लुट' चलेपछि त्यसको सिको गर्ने धेरै निर्माता लुटिएका उदाहरण प्रशस्तै छन् । 'चपली हाइट'को जस्तो सेक्सी फिल्मले त हिजोआज हलमा पानी पनि पिउन पाइरहेका छैनन् । यौन केन्द्रित स्तर विहिन फिल्मको प्रचारमा मिडियाले समेत हात झिकेको अवस्था छ ।

 

'लुट' फिल्मकै 'उध्रेको चोली...' आइटम गीतबाट कहलिएकी सुष्मा कार्कीको जवानी पनि सेलाउँदै गएको छ । सुष्माको ग्ल्यामर आइटम गीत रहेको 'वाउन्सर' फिल्मले निर्मातालाई चुर्लुमम्मै डुवायो । सुष्मा सहित जीवन लुईटेलको अभिनय रहेको फिल्म 'विन्दास २' 'विन्दास' जस्तो चलेन । बलिउड सुपरहिरो फिल्म 'क्रिष ३' ले नेपालबाट करोड माथि कुम्ल्यायो तर नेपाली सुपरहिरो फिल्म 'सौर्य' हेर्ने दर्शक भएनन् ।

 

सिङ्गल स्टेशनका सफल निर्माता छवि ओझा मल्टीप्लेक्स भन्दै 'लोफर' बनाउँदा चिप्लिए । मल्टीप्लेक्समा ठक्कर खाएपछि छवि पुनः सिङ्गल स्टेशनतिरै फर्किएका छन् । सिङ्गल स्टेशन केन्द्रित फिल्म 'लज्जा'को यतिखेर धमाधम सुटिङ भैरहेको छ । त्यस्तै 'नोटवुक' फिल्मको 'गाला रातै...' गीतबाट चर्चा कमाएकी अभिनेत्री निता ढुङ्गानाको अभिनित 'दबाब'सँगै 'उर्वशी'ले पनि निर्मातालाई खुसी दिन सकेन ।

 

आश गरिएको नम्रता श्रेष्ठको फिल्म 'मौन' पनि मौन भएर हलबाट बाहिरियो । फिल्मको प्रतिक्रिया राम्रै भएपनि व्यापार भने राम्रो हुन सकेन । नवल नेपाल निर्देशित फिल्म 'महसुश'बाट केकी अधिकारीको मात्र चर्चा भयो । निर्माता कल्याण घिमिरे गुमनाम भए । निर्देशक सुदर्शन थापाको फिल्म 'मधुमास'ले पाएको चर्चालाई क्यास गर्न सकेन । 'मधुमास' फिल्मबाट मनोज आरसी सम्भावना बोकेका कलाकारको रुपमा उदाउँदा आर्यन सिग्देलको करिअरमा 'मधुमास' सहित 'लोफर', 'महसुस' र 'दबाब' फल्प फिल्ममा गनिए ।

 

चलेका कलाकार, सेक्स, फाइट र क्राइमका फिल्म फल्प हुँदै गएपछि दर्शकले कस्ता फिल्म मन पराउँछन् र फिल्मको व्यापार बजोडको हुन्छ ? बहसको विषय बन्न सक्छ । वर्ष ०७० को पुससम्म आइपुग्दा 'काली' र 'होस्टेल' फिल्म मात्रै व्यापारिक रुपमा सफल भएका छन् ।