सफलताको यात्रा तय गर्न कठिन पर्छ । त्यो भन्दा कठिन सफलताको यात्रालाई कायम राख्न कठिन पर्छ । संगीतकार महेश खड्कालाई पनि सफलताको यात्रा कायम राख्न निकै कठिन परे जस्तो देखिन्छ ।
एक समय लगातार हिट फिल्म दिएर अवार्ड अवार्डमा कब्जा जमाउँदै आएका संगीत खड्का केही वर्षदेखि भने सुस्ताएका छन् । सहकर्मी बसन्त सापकोटा र अर्जुन पोखरेलद्धारा संगीतवद्ध फिल्म गीतले बजार पिटीरहंदा महेशका गीत भने सुन्ने मस्किल छन् । किन सुस्ताए त महेश ? कारण धेरै हुन सक्छन् ।
पहिलो फिल्म 'त्रिबेणी'को 'तिम्रो आँखामा के छ' बोलको गीतबाट नै सफलता पाएका महेशले त्यसपछि अधिकांश फिल्ममा हिट गीत दिए । फिल्म बजारमा लगातार हिट गीत दिंदै आएका महेश प्रेममा परेपछि सिर्जना गर्न बिर्सिएको बिश्लेषण गर्न थालिएको छ ।
पहिलो श्रीमती तर्फ एक छोराका बाबु बनिसकेका महेश पाँच बर्षदेखि मिनाक्षीसँगको प्रेममा रहे । गत दशैंमा त उनले आफ्नो प्रेमलाई बिबाहमा नै परिणत गरे । दुई श्रीमतीको पति बनेका महेश फिल्मबाट सुस्ताएको धेरै भयो ।
महेशले तीन बर्ष अगाडी 'नाइ नभन्नु ल'का लागि हिट गीत दिए । त्यसपश्चात भने फिल्म संगीतबजारमा बसन्त र अर्जुनको कब्जा जम्यो । सुरेश अधिकारी पनि सुस्त गतिमा चम्किरहेका छन् । महेश भने सुस्ताउँदै गए ।
उनले पछिल्लो समय संगीत दिएको 'मेरो मनको साथी', 'सपना' जस्ता फिल्मका गीत केहि सफल मानिएपनि हिट भने हुन सकेका छैनन् । महेशले संगीत भरेको फिल्म 'माई प्रमिश' रिलिजको क्रममा छ । महेशका 'आज मन उडेर भाग्छ', 'मलाई फूल्न देऊ', 'मैले त्यहि भएर मन पराको', 'नाइ नभन्नु ल', 'मै मोरीलाई लिन' जस्ता गीत हिट छन् ।
फिल्म 'हिफाजत'को महेशकै संगीत रहेको 'कसैलाई त माया पनि पोल्ने हुँदो रैछ' भन्ने गीत आज उनकै जीवनमा सार्थक हुन आएको त हैन ? नेपालीमा उखान छ नि, 'दुई जोईको पोई कुना पसि रोई' । यो उखान यिनै संगीतकार खड्काको जीवनमा लागू भएको पो हो कि !

