Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

निर्देशक दोङको अन्त्येष्टी सम्पन्न

फिल्मीखबर, काठमाण्डौ, 2013/12/16

मंसिर २१ गते शुक्रवार हृदयघातका कारण मलेसियामा निधन भएका तामाङ फिल्म निर्देशक सुदिप दोङको आइतबार अन्तिम अन्त्येष्टी गरियो ।  तामाङ चलचित्र संघका सदस्य समेत रहेका दोङको शवलाई अन्तिम अन्त्येष्टिका लागि आइतबार नै काठमाडौं ल्याइएको थियो ।

 

मलेसियाबाट काठमाडौं आइपुग्ने वित्तिकै शवलाई सीधै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको थियो । झण्डै एक घण्टा चलेको श्रद्धाञ्जली सभामा उल्लेख्य संख्यामा उपस्थित तामाङ फिल्मकर्मीका साथै गायक, गायिका, समाजसेवी एवम् सर्वसाधारणहरुले अन्तिम श्रद्धाञ्जलीस्वरुप खादा र पुष्पमाला चढाएका थिए ।

 

सोही अवसरमा आयोजित शोकसभामा स्वर्गीय दोङलाई फिल्म क्षेत्रमा ल्याएका निर्देशक दीपेन्द्र दोङ तामाङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, पत्रकार प्रतीक ङेसुर, तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष सन्तलाल घिसिङ र संघका वर्तमान अध्यक्ष जेनिश दोङ लगायतले स्वर्गीय दोङको व्यक्तित्व र योगदानबारे बोलेका थिए ।

 


श्रद्धाञ्जलीपछि लामा बाजागाजा र मोटरसाइकल स्कर्टिङ सहित कमलादीबाट शुरु भएको शवयात्रा स्वयम्भूमा पुगेर बौद्ध परम्परा अनुसार अन्तिम अन्त्येष्टि कार्य सम्पन्न भएको थियो ।  २०३५ सालमा काभ्रेको पिन्थलीमा जन्मेका स्वर्गीय दोङले मयुङ,  आङाला मिख्ली, ह्युल्ला माया, कर्म, दोर्जे डन र आले च्याङ्बा लगायतका फिल्मको निर्देशन गरेका थिए । उनको निधन हृदयघातबाट भएको हो । स्वर्गीय दोङको श्रीमति सहित एक छोरा र एक छोरी रहेका छन् ।