पुसको ठन्डीमा फिल्म खिच्ने कार्य भने जारी छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीको फिल्म 'एउटा साथी'ले मंसिर महिनाको ३० गतेबाट छायाँकन प्रारम्भ गरेको छ । फिल्मको हाल काठमाडौं स्थित बाँसवारीमा इन डोर सुटिङ चल्दैछ ।
सेटमा सलोन बस्नेत र रिस्ता बस्नेतले टेक दिइरहेको निर्देशक सुवेदीले जानकारी दिए । सलोन फिल्मस्को प्रस्तुती रहेको 'एउटा साथी'मा सलोन र रिस्तासँगै अनु शाह, शिशिर भण्डारी लगायतको भूमिका छ । फिल्मलाई गणेश कुमार श्रेष्ठले खिच्दैछन् भने टंक बुढाथोकीले संगीत दिएका छन् । 'एउटा साथी'को सुटिङ काठमाडौं र मुस्ताङका रमणीय स्थानमा छायाँकन गरिने निर्देशक सुवेदीले बताए । फिल्मको सुटिङ तालिका झन्डै ४५ दिनको छ ।
त्यस्तै लिम्बु जातिको कला र संस्कृतीमा आधारित फिल्म हेल्लुक्वा (लाग्यो बाडुली) को पनि छायाँकन प्रारम्भ भएको छ । फिल्मका निर्देशक किशोर सुब्बा हुन् । नामेन्द्र सिंह आङबुहाङ प्रस्तुतकर्ता रहेको यस फिल्ममा पदम हुक्पा चोङवाङ, कुमारी खवास र इन्द्र तुम्बापोको लगानी छ । फिल्मलाई इलाम, पाँचथर र काठमाडौंका विभिन्न स्थानमा सुटिङ गरिनेछ ।
यस्तै सुवास कोईरालाले निर्देशन गर्न लागेको फिल्म 'पुन्टे परेड'को सुटिङ आगामी बिहिबारबाट काठमान्डौमा गरिंदै छ । हरि महतले निर्माण गर्न लागेको यो फिल्ममा संयम पुरी, एञ्जिला दाहालको मुख्य भूमिका छ । यी फिल्मसँगै लज्जा, संजोग, जनैको साँचो गरी झन्डै १० वटा फिल्म हाल छायाँकनको क्रममा छन् । पुसको ठन्डीले फिल्मको सुटिङमा खासै असर नगर्ने सम्बन्धित फिल्मको पक्षले बताए ।

