सोलो रिलिज गर्दा समेत व्यापार उत्साहको नभएपछि र ठन्डीमा हलमा दर्शकको संख्या न्यून हुने आशंकाले निर्माताहरु फिल्म रिलिज गर्न डराएका छन् । जसको प्रत्यक्ष असर पौष महिनामा देखिने भएको छ ।
पौष महिनाका ३ वटै शुक्रबार फ्रेस फिल्म प्रदर्शन हुने छैनन् । महिनाको अन्तिम शुक्रबार पौष २६ मा भने फिल्म 'छ एकान छ', 'बितेका पल' र 'पराइ'सँगै दुई फिल्म 'प्रतिज्ञा' र 'योद्धा' रिलिज हुने बताईएको छ । तर यि दुई फिल्मको भने अझै पुष्टी भईसकेको छैन ।
मंसिर महिनामा सोलो रिलिज भएका 'लोफर' र 'सौर्य'ले सोचे अनुसारको व्यापार गर्न सकेनन् । निर्माता तथा वितरक सुनिल मानन्धरले प्रदर्शको लागी फिल्मको संख्या नै न्यून रहेको औल्याए । उनले भने- 'सोलो रिलिज भएका फिल्म समेत फल्प भएपछि निर्माता फिल्म रिलिज गर्न डराएका छन् । फिल्म प्रदर्शन गर्नु भनेको आफ्नो सम्पत्तीको मूल्य शून्यमा झार्नु हो । निर्माता आफ्नो फिल्मको मूल्य शून्यमा झार्न चाहँदैनन् ।'
अर्का वितरक तथा हलवाला नरेन्द्र महर्जन भने फ्रेस फिल्म नचल्ने भएपछि पौष महिनाका ३ शुक्रबार ५, १२ र १९ गते हलमा पुरानै फिल्मलाई प्रदर्शन गर्ने बताए । उनले भने- 'काली फिल्मलाई दोर्याएर प्रदर्शन गर्ने टुङगो लागी सकेको छ । अन्य राम्रा फिल्मलाई पौषको ३ हप्ता चलाउन कुरा चल्दैछ ।'
कुनै समय यस्तो थियो जतिबेला निर्माता तथा वितरक बिच फिल्म प्रदर्शन गर्न होडबाजी नै चल्थ्यो । एकाध फिल्मले लगानी उठाए पनि एकआपसमा जुधेका अधिकांश फिल्मका निर्माताले घाटा बेहोरे । मंसिरमा सोलो रिलिजको अवसर पाएका फिल्मले समेत लगानी उठाउने व्यापार गर्न नसकेपछि निर्माताहरु फिल्म नै रिलिज गर्नबाट पछि हटेका हुन् ।

