झुर फिल्मले दर्शक झुक्याएपछि विदेश बजारमा नेपाली फिल्मको माग ह्वात्तै घटेको छ । यसको प्रत्यक्ष असर राम्रा र मन पराइएका फिल्मलाई परेको छ । विदेशमा नेपाली फिल्म चलाएर नाफा कमाउनु निर्मातालाई फलामको चिउरा चपाउन भन्दा कठिन रहेको बुझिन्छ ।
यस्तै मारमा परेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठ । ओभरसिज राइट लिने भन्दै आफ्ना पारिश्रमिक दर घटाएर फिल्ममा अभिनय गरेकी नम्रताले हालसम्म एउटा फिल्मको एउटा पनि शो चलाउन सकेकी छैनन् । नम्रताले प्रदर्शन भैसकेको फिल्म 'मौन' र 'मेघा'को ओभरसिज राइट लिएकी थिइन् । यि दुबै फिल्म विदेशमा रिलिज हुन सकेको छैन ।
घान्द्रुकस्थित एक भिडियो गेमको सुटिङमा व्यस्त नम्रताले अष्ट्रेलिया र हङकङमा फिल्म प्रदर्शन गर्ने दाबी गरिन् । नम्रता भन्छिन्- 'समय व्यस्तताले गर्दा शो फिक्स गर्न सकेको छैन ।' नम्रताले जनाएअनुसार 'मौन'लाई अष्ट्रेलिया र 'मेघा'लाई हङकङमा देखाउने तयारी भैरहेको छ । 'समय निक्लने वित्तिकै शो फिक्स गर्छु,' नम्रताले भनिन्- 'साइनिङ अमाउन्ट लिएकाले मलाई ओभरसिजमा फिल्म प्रदर्शन नगर्दा पनि घाटा हुँदैन ।'

