बहुप्रतिक्षित फिल्म 'मायाज बार'ले लगानी उठाउने व्यापार गर्न नसक्दा निर्माता सुनिल मानन्धरको मुड फ्रेस थिएन । मुड फ्रेस नहुँदा फिल्म निर्माणमा सुनिलले सोच राख्ने कुरै थिएन । कसैले फिल्म बनाउने हो ? भनेर प्रश्न गर्दा पनि सुनिल झर्किने गर्दथे ।
फिल्म 'मायाज बार'को ह्याङमै रहेका बेला फिल्म निर्माणकै विषयलाई लिएर एउटा अपरिचित मोबाइल नम्वरले सुनिलको मोबाइलको घन्टी बजाउन थाल्यो । उनले अपरिचित कललाई खासै वासै वास्ता गरेनन् । 'मैंले तपाईलाई चिनेको छु, म तपाईलाई भेट्न चाहन्छु' भन्ने म्यासेज आएपछि सुनिलले फोन उठाए । सुनिलले भेट्नको लागी समय दिए । सुनिलसँग फिल्म बनाउन खोज्ने कुनै सपाङ्ग व्यक्ति थिएनन् । उनी थिए, १६ वर्ष अघि गम्भीर दुर्घटनामा परेर 'स्पाईनल कर्ड'ले काम गर्न छोडेका हिव्लचियर प्रयोगकर्ता प्रबिन श्रेष्ठ ।
प्रबिनलाई देख्ने बित्तिकै भावुक बनेका सुनिलले फिल्मको कथा के सुनेका मात्र थिए लगानी गर्न तयार भए । 'कथा मन पर्यो, फिल्म म बनाउँछु,' सुनिलले यसो भनेपछि प्रबिन हर्षित भए । अन्तत मोक्ष प्रोडक्सनसँगको सहकार्यमा सुनिलले प्रबिनको आफ्नै जीवनसंघर्षको कथामा फिल्म निर्माण गरे ।

माघ २४ गते अल नेपाल प्रदर्शन हुने फिल्म 'मोक्ष'को प्रेस समारोहमा निर्माता तथा वितरक मानन्धरको फिल्म निर्माण गर्नुको रहस्य सार्वजनिक गरेका मात्र के थिए माहोल एकछिन भावुक बन्यो । राम्रो कथामा फिल्म बनाएको बताउँदै निर्माता मानन्धरले भने- 'मलाई फिल्म चलोस् नचललोस् मतलब छैन । मलाई मतलब छ त मेरो नामसँग ।' सुनिलले अपाङ्गता भएर पनि म्यूजिक क्षेत्रमा नाम कमाएका प्रबिनसँग सहकार्य गर्न पाउनु गर्वको कुरा रहेको बताए ।
विगत लामो वर्षदेखि म्यूजिक भिडियो निर्देशक तथा सम्पादन गर्दै आएका प्रबिनले पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका छन् । 'मोक्ष' नामको फिल्ममा प्रविनकै अपाङ्गता जीवन र साँगीतिक संघर्षको करिअरलाई नाटकिय ढङ्गले प्रस्तुत गरिएको छ । दुर्घटना कसरी भयो ? प्रबिनले फिल्ममा नै सबै घटना उल्लेख गरेको बताए । फिल्मको कथाकार एवं सम्पादक प्रबिन स्वमय् हुन् ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पहिलो प्रेस समारोहमा निर्देशक श्रेष्ठ दुर्घटनामा पर्दा उपचार गर्ने डाक्टर बसन्त पन्त निकै हर्षित भए । न्यूरोलोजिस्ट पन्तले भने- 'कुनै पनि बिरामीसँग मेरो खास सम्बन्ध हुँदैन । तर, प्रबिनसँग मेरो बिरामी भन्दा पनि भाईको सम्बन्ध बस्न गयो । उसको यो प्रगती देखेर म खुसी छु ।' डाक्टर पन्तले 'मोक्ष' फिल्मबाट मेरुदण्डको बिरामीलाई शिक्षा मिल्ने विश्वास व्यक्त गर्दै देश तथा विदेशमा फिल्मको सक्दो प्रचार गर्ने समेत आश्वसन दिए ।
कार्यक्रममा डाक्डर पन्त सहित स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षु र मोक्ष यूनिटले फिल्मको एल्बम संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा गायक तथा फिल्मका मुख्य पात्र कोशिस क्षेत्री, गायक सञ्जिव सिंहले फिल्ममा समावेश गीत सुनाए । कार्यक्रममा 'मोक्ष'को प्रोमो तथा गीतका भिडियो समेत देखाइयो ।
'मोक्ष'मा कोशिस सहित वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ । संञ्जिव सिंह, नवक्रान्ती समूह, धिलुङ् राई र प्रबिन श्रेष्ठको संगीत छ भने रविन श्रेष्ठ, प्रताप सिंह र हरी हुमागाइँ फिल्मका सिनेम्याटोग्राफर हुन् ।







