फिल्म 'हँसिया'को आईटम गीतको सुटिङ गोप्य रूपमै गरेर सकिएको छ । तीन दिन लगाएर गरिएको उक्त फिल्मको आईटम गीतमा अभिनेत्री प्रियंका कार्की र हेमा श्रेष्ठले कम्मर मर्काएका छन् ।

'आजको रातमा यो भिडमा यो साँझमा' बोलको गीतका लागि फिल्मका निर्देशक मिलन चाम्सले १४ लाख खर्चिएको बताए । अहिलेसम्मकै सर्वाधिक धेरै खर्च गरेर सेट तयार पारिएको दाबी गर्ने चाम्सले किन यति धेरै लगानी गरे ? 'मरेर लानु केहि छैन । गरेपछि राम्रै गरौं भन्ने लाग्यो,' मिलनले हँसिलो पारामा भने- 'भोली मरेर जाँदा साथमा यहि हँसिया लैजानु पर्ला ।'
'एक्सन आईटम गीत' भनिएको उक्त गीतमा प्रियंका र हेमालाई कम्मर मर्काउन स्टेप सिकाएकी करियोग्राफर रेनशा राई भन्छिन्- 'यो डान्स मेरो करियरकै सबैभन्दा उत्कृष्ट हुनेछ ।' यसअघि 'मेरो एउटा साथी छ' फिल्ममा महंगो सेटमा रेखा थापालाई आईटम डान्समा प्रस्तुत गराएकी रेनशाले हेमा र प्रियंका जस्ता कुशल डान्सरलाई स्टेप सिकाउन पाउँदा निकै खुसी लागेको समेत बताईन् ।

निलम आङ्बुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको आइटम गीतमा शिवानी मोक्तानको स्वर छ । दुर्गा घलेले निर्माण गरेको यो फिल्ममा हेमाको साथमा राजेश हमाल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको छ । फिल्मका छायाँकार रामकुमार केसी हुन् । यो आईटम गीतलाई आउँदो अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गर्ने निर्देशक चाम्सले बताए । १४ लाखको गीत कस्तो बनेको होला त ? प्रतिक्षा गरौं ।

