आफूले सिर्जना गरेको सम्मान अर्काले थाप्दा कस्तो महसुस हुन्छ ? अझ भनौं आफूले गरेको सिर्जनाको कदर गर्दै पाएको अवार्ड आफ्नै हातले समाउन नपाउँदा कस्तो होला ? पक्कै पनि संगीतकार अर्जुन पोखरेलले यसको महसुश गरेको हुनुपर्छ ।
शनिबार साँझ सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको १५ औं इमेज अवार्ड समारोहमा 'ओर्जिनल साउण्ड ट्र्याक' अर्न्तगत 'बिन्दास' फिल्मको 'बाटो मोडेर गयौ' बोलको गीतबाट अर्जुनले अवार्ड पाए । १५ औं अवार्ड समारोहमा आईपुग्दा पहिलो पटक अवार्ड पाएका अर्जुनले उक्त अवार्ड भने आफ्नो हातले समाउन पाएनन् । सोही गीतका गायक शिव परियारले अवार्ड थाप्दा अर्जुनको अनुहार मलिन देखियो ।
मह जोडीको हातबाट अवार्ड थाप्न नपाएपनि शिवले फोटो खिचाउनको लागि भने अर्जुनसँग अवार्ड समात्न सहकार्य गरे । फोटो सेसन सकियो, अवार्ड अर्जुनको हातमा परेन । अर्जुन आफ्नो सिटमा गएर बसे, अवार्ड शिवले च्यापेर राखे । अर्जुन कानेखुसी गर्न थाले । यो अवार्ड कस्को हुन्छ ? उनको जिज्ञासा सायद मेटिएन क्यारे कार्यक्रम अवधीभर अर्जुनको मुहारमा हाँसो देख्न कठिन पर्यो ।
अवार्ड समारोह सकिएपश्चात पुन: फोटो सेसनका लागि स्टेजमा दुबै जना चढे । त्यहि घटना दोहोरियो । शिवले फोटो खिच्नका लागि अर्जुनको हातमा अवार्ड थमाए । फोटो खिचाएपश्चात पुन: शिवले अवार्ड समाते । अर्जुनको मनले पक्कै सोच्यो, अब यो अवार्ड शिवकै घरमा पुग्छ । शिवले अर्जुनको अनुहारलाई पढ्ने मौका पाए या अवार्ड मेरो हैन भन्ने बुझे, हल बाहिर निस्कनासाथ अर्जुनले आफ्नो अवार्ड समात्न पाए । अन्तत: अवार्ड अर्जुनको हातमा पर्यो । उनको मुहारमा बल्ल उज्यालो छायो ।
अर्जुन र शिव अवार्डको प्रतिनिधि पात्र मात्र हुन् । उक्त समारोहमा अधिकांश सर्जकले अवार्ड बाँड्न पर्ने अवस्थाको सामना गर्नुपर्यो । अवार्ड थाप्न सर्जकहरू समूहमा स्टेज चढे पनि अन्तत: लाने कस्ले ? दुबिधा चलिनै रह्यो । आयोजकले सायद यो कुराको ख्याल गरेको हुनुपर्छ ।


.jpg)

