छवि ओझा निर्मित फिल्म लोफरले अपेक्षाकृत व्यापार गर्न नसकेपछि फिल्म नगरीमा एक खालको तरङ्ग पैदा भएको छ । विगत २५ वर्षदेखि सफल फिल्म दिदैं आएका निर्माता ओझा कहाँ चुके ? फिल्मकर्मी बिच गफ गर्ने विषय बनेको छ ।
सप्ताहन्नको कलेक्सन जम्मा भैनसकेकाले नाफा घाटा कति भयो भन्ने रिपोर्ट सार्वजनिक गर्न नमिल्ने वितरक नरेन्द्र महर्जन बताउँछन् । राम्रो चल्ने अपेक्षा गरिएको लोफर किन चलेन् ? निर्माता समेत रहेका वितरक महर्जनको ठम्याइ छ- 'मल्टिप्लेक्स कि सिङ्गल थिएटरको दोसाँधमा फिल्म परेर दर्शक झुक्किए ।' नव निर्देशक आदित्य विक्रम लम्साल निर्देशित लोफरलाई निर्माता ओझाले मल्टिप्लेक्स फिल्म भन्दै प्रचार गरेका थिए ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, सुशिलराज पाण्डे, कमलमणी नेपाल, रजनी केसी, सागर लम्साल क्षेत्रीको मुख्य भूमिका छ । विगतमा छवि ओझा खडेरी लागेको फिल्मी बजारलाई उठाउने निर्माता भनेर चिनिन्थें । किस्मत, हिम्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, रावण जस्ता फिल्मले निर्माता ओझालाई सफल निर्माताको पगरी गुथाए । लोफर चल्न नसकेपनि यो पगरी निर्माता ओझालाई भारी पर्ने विश्लेषण गरिदैछ ।
सुख्खा लागेको फिल्मी बजारलाई गर्माउने निर्माताको लोफरले किन बजार गर्माउन सकेन ? थप कारण बारे वितरक तथा निर्माता नरेन्द्र महर्जनको तर्क छ- 'वर्तमान देशको राजनीतिक अवस्थाले पनि फिल्मको व्यापारलाई असर गर्यो ।' मंसिरमा दर्शक फिल्म हलमा नभएर बिहेको भोजमा गए । उनले लोफर ७५ पर्दाबाट उत्रिएर ठुला २५ पर्दामा दोस्रो हप्तामा प्रदर्शन भैरहेको जानकारी दिए ।

