'समय भन्दा अघि र भाग्य भन्दा बढी केही पाइँदैन' भन्ने नेपाली उखान निर्देशक सुरज सुब्बा नाल्बोको जीवनमा मेल खान पुगे जस्तो देखिन्छ । नाटक निर्देशनको पछि लाग्दा लाग्दै एसएलसीको टेस्ट परिक्षा समेत छाडेर फिल्म निर्देशक बन्ने दृढ विश्वास लिएका निर्देशक सुब्बालाई सुरुकै गासमा ढुङ्गा लाग्यो ।
माध्यमिक तहको पढाइ भन्दा सडक तथा स्टेज नाटकमा ध्यान दिएका धराने ठिटोले आफ्नो सुरुको फिल्म फल्प हुँदा पनि हरेस भने खाएनन् । 'काम असफल हुन्छ मान्छे असफल हुँदैन', वि.सं. २०५२ सालमा निर्देशन गरेको पहिलो फिल्म 'अंशवन्डा' फल्प हुँदा निर्देशक नाल्बोको मनमा यस्तै विचार पलाएको थियो । आफ्नो पहिला फिल्म फल्प हुँदा उनी निराश थिएनन्, आशावादी थिए ।
दोस्रो फिल्म 'हाउडे' चल्न नसक्दा पनि सुरज निराश भएनन् । बरु उनी फिल्मको कथा लेख्नतिर तम्सिए । 'यो बिचमा झन्डै मैले ८० वटा फिल्मको कथा लेंखे होला', उनले आफुद्धारा कथा लेखिएका फिल्मको संख्या सुनाए- 'तर, मैंले कथा लेखेका फिल्मले मलाई परिचय दिएनन् । दर्शकले मलाई चिनेनन् ।' १२ वर्षमा खोला पनि फर्किन्छ भनेझैं निर्देशक नाल्बोले पनि झन्डै १२ वर्षमा सफलता हात पारे ।
२०६७ सालमा प्रदर्शन भएको जातिय विभेदमा विरुद्धको फिल्म 'बाटो मूनिको फूल' निर्देशन गरेर निर्देशक नाल्बो रातारात हिट निर्देशकमा दहरिए । 'बाटो मूनिको फूल' सफलताको सुत्र बारे सुरज भन्छन्- 'सशक्त कथा, संगीत र निर्माण युनिटले गर्दा फिल्म सफल भयो । सबैले मन पराए ।' सफलताको अनुभव चाहिं कस्तो हुँदो रहेछ त ? उनी साहित्यिक सुनिए- 'मरूभूमीमा प्यासले हिड्दै गर्दा पानी भेटिए जस्तो अनुभव गरें ।'
असफलता जस्तै सफलताले पनि निर्देशक नाल्बोलाई लगातार पछ्याइ रह्यो । 'बाटो मूनिको फूल'बाट चम्किएका निर्देशक नाल्बो निर्देशित अर्को फिल्म 'सायद' पनि सुपरहिट बन्न पुग्यो । उनका नाममा सुपरहिट फिल्म दर्ता भए । यी फिल्मबाट निर्देशक नाल्बोले थुप्रै अवार्ड समारोहमा उत्कृष्ट निर्देशक तथा कथाकारको अवार्ड उचाले । फिल्म नगरीमा निर्देशक नाल्बो 'ए वान' निर्देशकमा गनिए ।
नाल्बो निर्देशित फिल्म 'फेसबुक'ले भने सोचे अनुरुपको प्रतिक्रिया बटुल्न सकेन । 'फेसबुक' फल्प बन्नुमा निर्देशक नाल्बोको निष्कर्श छ- 'फिल्ममा हाम्रो कथा भन्ने शैली विपरीत हुन गयो । दर्शकको अनुमानमा हामी चुक्यौं ।' तर, आफ्ना हरेक असफलता नै सफलतासँग जोडिएको छ भन्न निर्देशक नाल्बो चुकेनन् । 'फिल्म 'फेसबुक'मा देखिएका कमी कमजोरीलाई फिल्म 'बितेका पल'मा दोहोर्याएको छैन', यही पौष २६ गते प्रदर्शन हुने फिल्म 'बितेका पल'बारे दर्शकलाई निर्देशक नाल्बोले आश्वस्त पार्न खोजे- 'फिल्ममा सत्य प्रेम कथालाई मन छुने गरी प्रस्तुत गरेको छु ।'
केकी अधिकारी, अभिनाश गुरुङ र बाबु बोगटीको मुख्य भूमिका रहेको फिल्ममा राजेश घतानी र कृष रिजालको लगानी छ । 'बितेका पल' सफल भएन भने तपाईको निर्देशकीय जीवनलाई कस्तो असर पर्छ ? उनले भने- 'म अन्य फिल्म राम्रो बनाउने कोशिस गर्छु ।' निर्देशक नाल्बो निर्देशित 'माई प्रमिश', 'मेरो भ्यालेनटाइन' र 'वान वे' फिल्म प्रदर्शनको क्रममा छन् ।
फिल्म कलाकारले चल्छ कि निर्देशकले ? यसमा मत विभाजन हुन सक्ला । तर, निर्देशक नाल्बो भने निर्देशक हावी हुने फिल्ममा कन्टेन्ट बलियो हुने दाबी गर्दै आफ्ना फिल्मको उदाहरण पेश गर्छन् । भन्छन्- 'बाटो मूनिको फूलमा यश कुमार र बाबु बोगटी दुवै नयाँ कलाकार थिए । सायदका संयम पुरी र विल्सन विक्रम राई नयाँ नै हुन् । तर, फिल्म चल्यो । यी फिल्ममा स्टार कलाकारको भ्यालु भन्दा पनि कथावस्तु राम्रो थियो ।'
निर्देशक नाल्बोले फिल्म निर्देशन सुरु गर्दा ताका हातमा क्ल्यापको टाटु खोपाएका छन् । किन हात खोपेको ? उनले जवाफ दिए- 'देहान्तपछि मानिसले सँगै लैजाने भनेकै टाटु रहेछ । मर्दा पनि आफ्नो पेशालाई साथै लैजान चाहान्छु ।' टाटु मात्रै हैन उनले हातमा विभिन्न धर्मका माला तथा औंठी लगाएका छन् । तपाईको सफलतामा धर्मको हात छ कि कर्मको ? निर्देशक नाल्बो घोरिए र भने- 'राम्रो कर्म गर्यो भने धर्मले पनि साथ दिन्छ भन्ने मेरो विश्वास हो ।'

