`झोला`, `झोले` र `झेली । झट्ट सुन्दा एउटै लाग्ने यी नामका फिल्म एउटै मितिमा प्रदर्शन भए के होला ? पक्कै दर्शक झुकिनेछन् ।
कुन फिल्म हेर्ने ? `झोला`, `झोले` र `झेली ? निर्माण यूनिटले गर्ने प्रचार शैली, प्रोमो तथा पोस्टर्समा देखिने आकर्षणले कुन फिल्म हेर्ने ? दर्शकले निर्णय गर्नेछन् । यद्पी सँगै प्रदर्शन हुने फिल्मका निर्मातालाई फाइदा भने नपुग्ने देखिन्छ । विशेष प्रदर्शनीमा रुचाइएको यादव भट्टराई निर्देशित 'झोला' फिल्मले आफ्नो प्रदर्शन मिति नतोकेपनि फिल्म 'झोले' र 'झेली'ले भने प्रदर्शन मिति तोकिसकेका छन् ।
डार्क कमेडी फिल्म 'झोले' र 'झेली' फागुन ९ गते प्रदर्शन हुँदैछन् । दिपेन्द्र के. खनाल निर्देशित फिल्म 'झोले'मा प्रियंका कार्की, दयाहाङ राई, ए गुरूङ लगायतको अभिनय छ । त्यस्तै कमल दाहालले निर्देशन गरेको फिल्म 'झेली'मा अनिल थापा, अस्कर शर्मा, सुर्बिना कार्की, विष्णु रिजाल र दीपा अधिकारीलाई देख्न सकिन्छ । भेषमान श्रेष्ठले निर्माण गरेको 'झेली' फिल्मले मानवीय स्वार्थी भावनालाई प्रस्तुत गर्न खोजेको छ ।
एक सय वर्ष अगाडीको सती प्रथालाई मुख्य विषय बनाइएको फिल्म 'झोला'मा गरिमा पन्तले सती जाने युवतीको भूमिका निर्वाह गरेकी छिन् । साथमा लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको अभिनय छ । एउटै सुनिने नामकै कारणले गर्दा दर्शक हल जानबाट बञ्चित नहुन् । निर्मातालाई घाटा नपरोस् ।

