दशैंपछि हलमा दर्शकको भिड देखिएको छैन । सोलो रिलिजको अवसर पाएका फिल्मले समेत निर्मातालाई नाफा दिन सकेका छैनन् । आशा गरिएका फिल्म समेत घाटामा गएपछि निर्माता तथा निर्देशकको हातमा निराशामा मात्रै परेको छ । यद्पी फिल्म रिलिजको घोषणा गर्ने क्रम भने रोकिएको छैन ।
सार्वजनिक बिदा, नयाँ वर्ष तथा बन्द हड्ताल नपर्ने मितिमा फिल्म प्रदर्शन गर्न निर्माता तथा वितरक बिच घम्साघम्सी नै चलेको छ । माघे संघ्रान्तीमा ५ फिल्म प्रदर्शन हुने निश्चित भैसकेका छन् । नयाँ वर्ष ताकेर थुप्रै निर्माता निर्देशक यतिखेर फिल्मको पोष्ट प्रोडक्सनमा जुटेका छन् । यस्तै फिल्म 'मुटु'को पनि प्रदर्शन मिति तोकिएको छ ।
सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको फिल्म 'मुटु' माघ १० देशभरका पर्दाबाट प्रदर्शनमा आउने जानकारी छ । फिल्ममा केकी अधिकारी र बिम्लेश अधिकारीको मुख्य अभिनय छ । केकी र बिम्लेश म्यूजिक भिडियोका हिट जोडी हुन् । मुकेश आचार्यको पनि अभिनय रहेको 'मुटु'मा बसन्त सापकोटाको संगीत छ ।
केकीको मुख्य अभिनय रहेको फिल्म 'बितेका पल' भने यही पौष २६ गते प्रदर्शन हुँदैछ । 'मुटु' प्रदर्शन हुने मितिमा फिल्म 'दब्दबा' पनि प्रदर्शन हुँदैछ । फिल्मलाई एमएस अग्रजले निर्माण तथा निर्देशन गरेका हुन् । 'दब्दबा'को प्रदर्शन मिति धेरै पटक स्थगित हुँदै आएको छ ।

