Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोला`ले देखायो गरिमाको सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2013/12/12

विशेष प्रदर्शनीमा फिल्म 'झोला'ले राम्रो प्रतिक्रिया बटुलेसँगै सो फिल्ममा अभिनय गर्ने अभिनेत्री गरिमा पन्तको पनि चर्चा चुलिएको छ । एक सय वर्ष अगाडीको सती प्रथामा आधारित फिल्ममा जयकला सतीको भूमिका निर्वाह गरेकी गरिमाको अभिनय हेर्ने सबैले अवार्ड विनिङ रहेको टिप्पणी गरेका छन् ।

 

स्वयम गरिमाले पनि आफ्नो फिल्मी करिअरमा 'झोला'ले महत्वपूर्ण अर्थ राख्ने विश्वास व्यक्त गरेकी छिन् । ग्रामीण विकास विषयको मास्टर्स पहिलो वर्षको परिक्षा दिदैं गरेकी गरिमा भन्छिन्- 'झोला फिल्मले मेरो करिअरमा विशेष अर्थ राख्नेछ ।' करिब ७ वर्ष अघि तनहुँ वरादीमा प्रवेशिका परिक्षा दिएर छुट्टी मनाइरहेकी गरिमाले त्यतीखेर फिल्मकी हिरोइन बन्छु भन्ने सपना पालिन् जतिबेला उनले नरमणी नामक टेलिफिल्ममा अभिनय गर्ने मौका पाइन् । उनको पहिलो त्यो टेलिफिल्म प्रसारण हुन पाएन । तर, त्यस टेलिफिल्मले कला क्षेत्रको ढोका भने खोलिदियो ।

 

गरिमा सम्झन्छिन्- 'नरमणी टेलिफिल्मकै प्रोडक्सन म्यानेजरले मलाई अर्को टेलिफिल्ममा अभिनय गर्ने अवसर जुटाइदिनु भयो ।' गरिमा अभिनित 'चाहना मन'को टेलिफिल्म पहिलो पटक टेलिभिजनमा प्रसारण भयो । त्यस टेलिफिल्ममा गरिमाले गरेको अभिनयलाई अन्य कलाकर्मीसँगै दर्शकले पनि रुचाए । अभिनयमा निखरता ल्याउँदै गरेकी गरिमा टेलिफिल्म 'सिन्दूर'बाट भने चर्चाको शिखरमै पुगिन् । गरिमाले गरेको कारूणिक अभिनयकै कारणले 'सिन्दूर' टेलिफिल्मको दर्शक संख्या औधी थियो ।

 

टेलिफिल्मबाट सानो पर्दाका दर्शकलाई आफ्नो बनाइसकेकी गरिमाले 'निखिल दाई' फिल्मबाट ठुलो पर्दामा फड्को मारिन् । त्यतीबेलाका एक्सन स्टार निखिल उप्रेतीको अपोजिटमा गरिमा प्रस्तुत भएकी थिईन् । विशेष प्रदर्शनीमा रहेको 'झोला'सँगै 'किन लाग्छ माया' फिल्मबाट गरिमाले अभिनयको राम्रो तारिफ पाइन् । परिवारबाट आपत्ती नआउने र समाजले पचाउने फिल्ममा मात्रै अभिनय गर्ने दृढता व्यक्त गर्ने गरिमा भन्छिन्- 'हरेक क्षेत्रमा सकारात्मक सँगै नकारात्मक पक्ष हुने गर्दछन् । तर, हाम्रो फिल्म क्षेत्रमा नकारात्मक पक्षलाई बढी प्राथमिकता दिइन्छ ।'

 

फिल्म क्षेत्रमा हुने नकारात्मक टिप्पणीले तपाईलाई कत्तिको असर पार्छ ? भन्ने प्रश्नमा गरिमाको उत्तर छ- 'मलाई कुनै पनि टिका टिप्पणीले असर गर्दैन । म आफ्नो काम गर्छु । मलाई बजारमा चल्ने हल्लको पछाडी कुद्नु छैन ।' 'झोला'सँगै गरिमा अभिनित 'मनले मनलाई छुन्छ' र 'पराइ' फिल्म सार्वजनिक प्रदर्शनको क्रममा छन् । फिल्म नगरीमा अनलक्की हिरोइन भन्दै टिप्पणी गरिने गरिमालाई 'झोला' फिल्मले भने केही गर्ने सम्भावना बढाइदिएको एकथरीको विश्लेषण छ ।