दोस्रो संविधानसभाको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ७ बाट नेकपा एमालेको तर्फबाट बिजयी भएका अष्टनारायण हलका सञ्चालक रामविर मानन्धरले फिल्म सिटी दोलखामा नभई काठमाण्डौको चोभारमा हुनुपर्ने धारणा राखेका छन् ।
बिहिबार चलचित्र संघले रामविरको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले सुबिधा सम्पन्न ठाउँमा फिल्म सिटी निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि चोभार उपयुक्त स्थान रहेको बताए । उनले भने- 'हरेक फिल्मको सुटिङ समेत हुने चोभारमा सुबिधा सम्पन्न स्टुडियो बनाईनु पर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रत्यत्नरत रहनेछु ।' यस्तै उनले २ करोडमा फिल्म सिटी नबन्ने बताए ।
रामविरले नेपाली फिल्म उधोग स्थापित हुन नसकेको भन्दै विश्वका हरेक कुनामा नेपाली फिल्म पुग्नु पर्ने बताए । उनले नेपाली फिल्मलाई संविधानमा सम्बोधन गर्न प्रयत्न समेत गर्ने बताए । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले नेपाली फिल्म क्षेत्रको उपस्थिती संबिधानमा रहनेमा आफू आशावादी रहेको बताउँदै रामविरलाई आग्रहको भाषामा भने- 'फिल्म क्षेत्रमा दबेका आवाजहरूलाई उठाउनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।'

कार्यक्रममा फिल्मसँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रामविरलाई विजयीको शुभकामना सहित कार्यकालको सफलताको कामना गर्दै फिल्म क्षेत्रको विकासका लागि अब बन्ने संविधानमा नेपाली फिल्मको सम्बोधन गरिदिन आग्रह गरे ।

