पौष २६ गते दर्शक रुवाउन सुरज सुब्बा नाल्बो निर्देशित फिल्म 'बितेका पल' देशभरबाट प्रदर्शनमा आउँदैछ । जातिय विभेद विरुद्दको फिल्म 'बाटो मुनिको फूल' निर्देशन गरेर वाहवाही पाएका निर्देशक नाल्बोले 'बितेका पल' बाट पनि वाहवाही पाउने आश व्यक्त गरे ।
सत्य प्रेम घटनामा आधारित फिल्म रहेको दाबी गर्दै आएका निर्देशक नाल्बो भन्छन्- 'फिल्मले दर्शकको मनोभावलाई छुनेछ ।' युवा प्रेम र धोकाको वरीपरी घुम्ने कथामा केकी अधिकारी र अबिनाश गुरूङले मुख्य कलाकार भएर अभिनय गरेका छन् । बाबु बोगटी र आकाश खवासलाई पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देख्न पाइनेछ । दर्शक रुवाउने फिल्मले निर्माता तथा निर्देशकको मुहारमा हाँसो देला ?
निर्देशक नाल्बो बजारमा 'बितेका पल'कै चर्चा भएको दाबी गर्दै भन्छन्- 'दर्शक मन पर्ने फिल्म हेर्न हलमा आउनेछन् ।' त्यस्तै 'बाटो मुनिको फूल'बाटै नेपाली रजतपटमा प्रवेश गरेका निर्माता राजेश घतानीको विश्वास छ- 'फिल्मको गीत संगीतलाई दर्शक तथा स्रोताले मन पराएकाले फिल्म चल्नेमा म ढुक्क छु ।'
माघे सक्रान्तीको छेकोमा एकै दिन ५ फिल्म प्रदर्शनमा आउने भएपछि पौष २६ अहिले चर्चामा छ । ५ मध्ये फिल्म 'छ एकान छ' र 'बितेका पल' बिच हलमा खास भिडन्त हुने धेरैको अड्कल छ । यो अड्कलमा कस्ले बाजी मार्ला ? हाँस्य फिल्म 'छ एकान छ' र दर्शक रूवाउने फिल्म 'बितेका पल'का निर्माता फिल्म रिलिज पश्चात पनि हाँस्लान् ?

