निर्देशक शोभित बस्नेतले हिन्दी फिल्म निर्देशन गर्ने भएका छन् । हिन्दी फिल्म 'मै वह नही'लाई शोभितले निर्देशन गर्न लागेका हुन् । भारतीय कम्पनी लुवेना इन्फो मिडियाको लगानीमा लियाकत अली निर्माता रहेको फिल्मको सुटिङ यही जनावरीबाट प्रारम्भ हुने निर्देशक बस्नेतले बताएका छन् ।
फिल्मको सुटिङ नेपाली भूमिसँगै भारतको देहरादुनमा हुने जानकारी छ । आफ्नै कम्पनी सलोन फिल्मस्बाट 'एउटा साथी' फिल्म निर्माण गर्ने अन्तिम तयारीमा रहेका निर्देशक शोभितले भनेका छन्- 'फिल्मका मुख्य कलाकार र प्राविधिक बलिउडका हुनेछन् । तर, केही नेपाली कलाकार तथा प्राविधिकको पनि फिल्ममा सहभागीता रहनेछ ।' शोभितले मंगलबार मात्रै भारतीय कम्पनीसँग फिल्म निर्देशन गर्ने सम्झौता गरेको बताए ।
शोभितले थपे- 'फिल्म सस्पेन्स लभ स्टोरीमा आधारित हुनेछ । विगत एक महिनादेखि हामी फिल्म निर्माणको तयारीमा थियौं ।' हाल स्क्रिप्टीङ भैरहेको फिल्मको भव्य रुपमा मूर्हत समेत हुने निर्देशक बस्नेतले बताए । यसअघि निर्देशक कमलकृष्णले पनि नेपालमा भव्य मूर्हत गरेर एक हिन्दी फिल्म निर्देशनको घोषणा गरेका थिए । तर, सुटिङ भने सुरु भैसकेको छैन । शोभितले गर्छन् कि !

