विश्वको अभ्यास नै यस्तै छ । जब व्यक्तिले मृत्य ग्रहण गर्छ उसका हरेक गल्तीले क्षमा पाउँछन् । उसले गरेका राम्रा कामलाई सम्झेर आँखामा आँशु भरिन्छन् । पचास वर्ष नपुग्दै जीवन त्यागेका निर्देशक शिव रेग्मीले जीवनमा क्षमा पाउने त्यस्तो कुनै गल्ती गरेनन् । तर, सबैका आँखामा आँशु भने भरिदिए ।
निर्देशक रेग्मीको देहवसानमा सम्पूर्ण फिल्म क्षेत्र शोकाकुल बनेको छ । अभिनेता राजेश हमाल पनि निर्देशक रेग्मीको देहवसानबाट निकै दुःखीत छन् । निर्देशक रेग्मी निर्देशित 'हामी तीन भाई' फिल्ममा अभिनय गरेका राजेशले फिल्मीखबरसँगको एक भेटमा भने- 'उहाँको मृत्यूले म दुःखी छु । तर, उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पाइन् ।' चाडै नै शवलाई चितवन लगिएकोमा राजेशले दुखेसो पोखे । 'अलि समय राखेको भए सबैले भेट्न पाउथे,' राजेशले भने ।
अनुप बराल निर्देशित कोर्ट मार्सल नाटकमा व्यस्त अभिनेता हमालले निर्देशक रेग्मीको खुलेरै प्रसंशा गरे । राजेशले भने- 'त्यो बेलाको समयमा उहाँ दर्शकको भावना र मर्मलाई बुझ्ने निर्देशक हुनुहुन्थ्यो । उहाँले दर्शकलाई खुसी पार्नु भयो ।' दर्शकलाई कसरी खुसी पार्ने ? भन्ने ज्ञान निर्देशक रेग्मीबाट पछिल्ला पुस्ताका निर्देशकले सिक्नुपर्ने अभिनेता हमालले बताए ।

