Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुधबारदेखि काठमाडौंमा किम्फ सुरू

फिल्मीखबर, काठमाण्डौ, 2013/12/10

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको महोत्सव ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ (किम्फ) बुधबारदेखि राजधानीमा सुरु हुने भएको छ । आगामी मंसिर २६ देखि ३० गतेसम्म चल्ने महोत्सवमा ४९ वटा फिल्म समावेश रहेका छन् ।

 

महोत्सवमा सहभागिताका लागि ५५ फिल्मले ईच्छा देखाएका भएपनि केही उत्कृष्टले मात्र महोत्सवमा सहभागिताको मौका पाएको आयोजक बसन्त थापाले जानकारी गराए । ‘किम्फले विगत ५ वर्षदेखि ‘नेपाल पानोरामा’ अन्तर्गत नेपाली फिल्महरु प्रदर्शन गर्दै आएको छ । 'यो अवधिमा नेपाली फिल्मकर्मीको विषय छनोट र प्रस्तुतिमा निकै उन्नति भएको अनुभव गरेका छौं,' महोत्सवका अध्यक्ष बसन्त थापाले भने ।

 

हिमाल एसोसियसनको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिल्म ‘चेजिङ रेन्बोज’ को प्रिमियरबाट हुनेछ । महोत्सवमा ३० लाख खर्च हुने उनले जानकारी गराए । राष्ट्रिय सभागृहका हलमा ५ दिन चल्ने महोत्सवमा चल्ने महोत्सवमा यसपालि २० देशका फिल्म प्रदर्शन हुनेछन् । ‘चेजिङ रेम्बोज्’बाट उद्घाटन किम्फले समापनका लागि भने क्याप्टेन जोहन नोयलको फिल्म ‘द इपिक अफ एभरेस्ट’ छानेको छ । महोत्सवमा डब्लडब्लुएफले ‘वि आर अल कनेक्टेड’ शीर्षकको कार्यक्रम सञ्चालन गर्नेछ ।

 

डब्लडब्लुएफकी प्रतिनिधि सिम्रिका शर्माले किम्फसँगको सहकार्य पूरानो रहेको टिप्णी गर्दै फिल्मलाई मनोरञ्जनको माध्यमभन्दा बृहत्तर अर्थमा बुझ्नु पर्ने धारणा राखिन् । ‘किम्फसँगको सहकार्य पूरानो हो । यो साल हामी ‘वि आर अल कनेक्टेड’ शीर्षकमा छुट्टै कार्यक्रमका साथ उपस्थित हुँदछौं,’ डब्लुडब्लुएफकी सिम्रिका शर्माले भनिन् । महोत्सवमा अभिनेता राजेश हमाल र मिस नेपाल इशानी श्रेष्ठले डब्लुडब्लुएफका तर्फबाट प्रतिनिधित्व गर्ने पनि उनले बताइन् ।

 

त्यस्तै किम्फमा ‘ह्वाई पोभर्टी’ शीर्षकमा युवा फिल्मकर्मीले बनाएका सर्ट फिल्महरुको प्रतिस्पर्धा पनि महोत्सवमा समावेश गरिएको छ । स्टेप्स इन्टरनेसनलको सहकार्यमा भएको महोत्सवमा तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताहरुको छनोट गर्नेछन् । विजेताहरुले क्रमशः पन्ध्र सय, १ हजार र ५ सय अमेरिकी डलर पुरस्कार पाउनेछन् । महोत्सवमा ‘सुनगाभा’ निर्देशक सुवर्ण थापाको ‘छोरा’ पनि प्रदर्शन हुनेछ । फ्रान्सेली र नेपाली बाबुछोराको कथामा आधारित ‘छोरा’ मा अन्तर्देशीय सम्बन्धका आयामहरु देखिने निर्देशक थापाले जनाए ।

 

नेपाल प्यानोरमातर्फ उत्कृष्ट डकुमेन्ट्रीलाई ५० हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ । दर्शकहरुको मतका आधारमा एक फिल्मलाई अडियन्स अवार्ड प्रदान गरिनेछ ।