फिल्मको नाम जस्तै फिल्म 'लज्जा'को सुटिङ स्पटमा हिरोइन शिल्पा पोखरेल पनि लजालु देखिइन् । उनको स्वाभाव लजालु हैन तर पनि उनी किन लजाईन् त ? कथाले मागेको थियो ?
फिल्मीखबर युनिट सुन्धारास्थित धरहरा परिसरमा पुग्दा 'लज्जा'को सुटिङ चल्दै थियो । कलाकार आर्यन सिग्देल र निराजन लुइँटेल सटमा व्यस्त भैरहदा शिल्पा भने एकान्तमा बसेर गीत गुनगुनाइ रहेकी थिइन् । आर्यन र निराजनको सट सकियो । शिल्पा आफ्नै धुनमा मस्त रहिन् । उनी कहिले टोलाएर त कहिले गीत गुनगुनाएर बस्थिन् । शिल्पाको लजालुपन त्यहाँ देखियो जतिबेला फिल्मीखबरले आर्यन र निराजनसँग छुट्टाछुट्टै फोटो खिच्न आग्रह गर्यो ।
फोटो खिच्दा भने शिल्पाले चाहिने भन्दा बढी लजालुपन देखाइन् । फोटो खिच्दा शिल्पा हिरोको समिपबाट टाढै रहन चाहिन् । हात समाएर पोज दिनु त परकै कुरा । तर, फिल्मीखबरको आग्रहपछि भने शिल्पाले यी दुई हिरोको समिपमा आएर फोटो खिचाइन् । शिल्पाको लजाउने बानी हो या लजाए जस्तो मात्रै देखिइन् ?
निर्माता छवि ओझा निर्मित फिल्म 'लज्जा'लाई नवल नेपालले निर्देशन गर्दैछन् । 'लज्जा'मा सामाजिक विकृतीलाई बाध्यत्मक परिस्थिति बनाएर सकारात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक नेपालले बताए । मदन कास्यप घिमिरे छायाँकार रहेको फिल्मको सुटिङ अझै एक महिना हुनेछ ।

