निर्देशक शिव रेग्मीले नेपाली फिल्म क्षेत्रमा कसैको मन बिझाएनन् । तर, पचास वर्ष नपुग्दै निर्देशक रेग्मीले सबैको आँखा भिजाएर बिदा लिए ।
दुवै मृगौलाले काम गर्न छोडेपछि विगत ६ महिनादेखि नियमती उपचारमा रहेका निर्देशक रेग्मीलाई भेन्टिलेरमा राखेर उपचार गरियो । निर्देशक रेग्मीको उपचारमा झन्डै ३० लाख खर्चियो तर वृद्ध आमाको छोराको फेरी हिट फिल्म निर्देशन गर्ने सपना पूरा हुन सकेन । छोरी पल्लवीले त पानी समेत नखाइ बुवालाई ठिक होस् भनी प्रार्थना गरिन् तर भगवानले उनको प्रार्थना सुनेनन् । बिहानीले रात छोडेसँगै निर्देशक रेग्मीले पनि सबैलाई छाडेर बिदा लिए ।
दुई दर्जन भन्दा बढी फिल्म निर्देशन गर्दा निर्देशक रेग्मीले थुप्रै कलाकारलाई नेपाली फिल्म जगतमा हिट बनाए । तर, सँगै काम गर्ने सिमित कलाकारले मात्रै निर्देशक रेग्मीको पार्थिव शरीरलाई नियालेर आँसु चुहाउने मौका पाए । निर्देशक रेग्मी निर्देशित फिल्म फूल, मनले मनलाई छुन्छ र पराइमा अभिनय गरेकी अभिनेत्री गरिमा पन्तले निर्देशकको पार्थिव शरीरलाई श्रद्धाञ्जली व्यक्त गर्न पाइन् । बाँकि चर्चित कलाकार समयमा पुग्न सकेनन् ।

निर्देशक रेग्मी निर्देशित फिल्म आफ्नो मान्छे, मुग्लान र मानिसका अभिनेता दिलिप रायमाझी ढिला गरी वयोधा अस्पतालमा पुगेका कारण भेट्न पाएनन् । अभिनेता रायमाझीसँगै अभिनेत्री अरूणिमा लम्साल र दर्जन भन्दा बढी कलाकार बयोधा अस्पताल पुगेर निर्देशक रेग्मीको पार्थिव शरीरलाई नहेरेरै फर्किए । आजै अन्तिम संस्कार गरिने भएपछि ९ बजे नै निर्देशक रेग्मीको पार्थिव शरीरलाई एम्वुलेन्समा गृह नगर चितवन लगिएको छ ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको जीवनमा निर्देशक शिव रेग्मीले सबैभन्दा बढी हिट फिल्म दिए । शिव रेग्मी निर्देशित आफन्त, ए मेरो हजुर, सुख दुःख, पाहुना, हामी तीन भाई र कहाँ भेटिएला मुख्य कलाकार श्रीकृष्ण श्रेष्ठ हुन् । तर, अभिनेता श्रेष्ठले निर्देशक रेग्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जली व्यक्त गर्न पाएनन् । श्रीकृष्ण पारिवारिक कार्यले बनेपा गएको बुझिएको छ । यस्तै निर्देशक रेग्मीकै फिल्मबाट डेब्यू गरेकी अभिनेत्री स्वेता खड्का पनि उपस्थित हुन सकिनन् । उनले फेसबुकबाटै श्रद्धाञ्जली व्यक्त गरिन् ।

निर्देशक रेग्मी निर्देशित फिल्मका कलाकार निरुता सिंह, विपना थापा, झरना थापा, रेखा थापा, निखिल उप्रेती, राजवल्लभ कोइराला हाल देश बाहिर छन् । देश बाहिर हुने यी कलाकारमध्ये धेरैले सामाजिक सञ्जाल फेसबुकमा शोक व्यक्त गर्दै निर्देशक रेग्मीको आत्माले शान्ति पाओस् भन्ने कामना गरेका छन् । शिव श्रेष्ठ, राजेश हमाल, भुवन केसी, संचिता लुइँटेल, आर्यन सिग्देल, सौगात मल्ल, नम्रता श्रेष्ठ, निशा अधिकारी जस्ता कलाकार भने देशमै रहेपनि निर्देशक रेग्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पुगेनन् ।
शिवसँग काम नै नगरेका अभिनेता जीवन लुईटेल भने श्रद्धाञ्जली व्यक्त गर्न अस्पतालमा बिहानै पुगेका थिए । यि बाहेक केहि सिमित कलाकार र फिल्मकर्मीहरूले निर्देशक रेग्मीलाई श्रद्धाञ्जली व्यक्त गरे ।

