मर्ने कसैलाई रहर हुँदैन
नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाँउ जाउँ
मान्छे नमर्ने शहर हुँदैन - डा. कृष्णहरि बराल
मृत्यु स्वाभाविक घटना हो तर केहि यस्ता मृत्यु हुन्छन् जसले नचाहेरै आँशु खसाल्छ । कति बेला आँशु खस्छ पत्तै हुँदैन । नेपाली फिल्म क्षेत्रले पनि आज यस्तो दिग्गजलाई गुमाएको छ जसको शोकमा आँशु नझार्ने फिल्मकर्मी भेटिएनन् । मार्मिक फिल्म बनाएर दर्शकलाई रूवाउँदै आएका निर्देशक शिब रेग्मीको निधनले आज फिल्म उधोगलाई नै भावविह्वल बनाएको छ ।
बिशेषत: समाजको नजिक पुगेर नारी प्रधान फिल्म बनाउने निर्देशकको रूपमा चिनिएका शिब रेग्मीलाई आज फिल्म उधोगले गुमाएको छ । दुबै किड्नीले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचारार्थ रेग्मीको आज बिहान पौने छ बजे ४९ बर्षको उमेरमा निधन भएको हो । निर्देशक रेग्मीको पार्थिव शरिरमा श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो भिड लागेको थियो ।
बिसं २०२१ साल भाद्र २१ गते चितवनमा जन्मेका निर्देशक रेग्मीको अन्त्यष्टी भने उनकै गृहनगर चितवनमा गरिने भएको छ । श्रद्धाञ्जलीका लागि रेग्मीको शवलाई बिहान नौ बजेसम्म बयोधा अस्पतालमा राखिएको थियो । परिवारले रेग्मीको अन्त्यष्टी गृहनगरमा नै गर्ने बताएपछि शवलाई नौ बजे नै चितवन लगिएको छ । शिबले आफ्नो कला यात्रा शुरू गरेको नारायणी कला मन्दिरमा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ भने त्यसपश्चात उनको शरिरलाई अन्त्यष्टी गरिने बताईएको छ ।
दर्जनौं नाटकको निर्देशन पश्चात फिल्ममा स्क्रिप्ट लेखनबाट यात्रा तय गरेका निर्देशक रेग्मीको पहिलो निर्देशकिय फिल्म 'आफन्त' हो । उनको पहिलो फिल्ममा श्रीकृष्ण श्रेष्ठ, निरूता सिंह, सुनिल थापा, पवन मैनाली, सुशिला रायमाझी लगायतले अभिनय गरेका थिए । निर्देशक रेग्मीको पहिलो फिल्म नै हिट भएको थियो ।
आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, युद्ध, राम बलराम, दुनियाँ, मानिस, कहाँ भेटिएला, साथी म तिम्रो, हाँसी देउ एक फेर, पराई, मनले मनलाई छुन्छ, फूल, सो सिम्पल फिल्म निर्देशन गरेका शिबको अन्तिम फिल्म 'सो सिम्पल' थियो । फिल्म 'सो सिम्पल'बाट निर्देशक रेग्मीले आफ्नै छोरी भावनालाई अभिनेत्रीको रूपमा डेब्यू गराएका थिए । उनले निर्देशन गरेको दुई फिल्म 'पराई' र 'मनले मनलाई छुन्छ' रिलिजको क्रममा छ ।
आजभन्दा नौ बर्ष अगाडी शिबले निर्देशन गरेको फिल्म 'हामी तीन भाइ'ले आजकै मितिमा मोफसलका अधिकांश हलमा रिलिजको ५१ औं दिन मनाएको थीयोथियो । यो फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा लगायतको मुख्य भूमिका थियो । दुनियाँ र कहाँ भेटिएला फिल्मबाट निर्देशनमा राष्ट्रिय अवार्ड पाएका निर्देशक रेग्मीका अधिकांश फिल्म रजतपटमा सुपरहिट छन् ।
दर्जनौं फिल्मको स्क्रिप्ट समेत लेखेर अवार्ड हात पारेका निर्देशक रेग्मी आफैमा कुशल कलाकार र डान्सर पनि हुन् । यस्तै उनी कुशल गीतकार पनि हुन् । निर्देशक रेग्मीले मानिस र दुनियाँ नामक दुई फिल्मको निर्माण आफैले गरेका थिए । बिशेषगरी नारी प्रधान फिल्म बनाउने निर्देशकको रूपमा परिचित रेग्मीले नेपाली फिल्म उधोगमा एउटा अध्याय नै लेखेका छन्, राम्रा र सफल फिल्म निर्माणको ।
बि सं २०४१ सालमा ज्ञानुसँग बिहे गरेका निर्देशक रेग्मीका दुई छोरी भावना र पल्लवी तथा एक छोरा अभिषेक छन् । यस्तै निर्देशक रेग्मीले एक जनालाई धर्म छोरी समेत बनाएर कन्यादान दिएका थिए ।
निर्देशक रेग्मी कुशल, सरल, असल, सहज व्यक्ति हुन्, यसमा कसैको दुई मत छैन । तथापी रेग्मीलाई नजिकबाट बुझेका केहि फिल्मकर्मीले उनको बारेमा दिएको प्रतिक्रिया यस्तो छ -
निर शाह, बरिष्ठ फिल्मकर्मी
मैले उहाँसँग जम्मा दुई फिल्म (फूल र कहाँ भेटिएका)मा काम गर्ने मौका पाएको थिएँ । फिल्ममा सँगै धेरै काम नगरेपनि उहाँले राष्ट्रिय फिल्म उधोगको लागि ठूलो योगदान दिनुभएको छ । उहाँले लगाएको गुनको मूल्य सायदै चुकाउन सकिदैन । उहाँ फिल्म उधोगको हिरो नै हो । स-साना चरित्रलाई समेत गहिराईमा पुगेर अध्ययन गर्ने उहाँ जस्तो कुशल निर्देशकले आफ्नो लागि कहिल्लै केहि माग्नु भएन, उल्टै उहाँले सधैं दिईनै रहनु भयो । उहाँको जीवनमा फिल्म बाहेक अरू केहि थिएन ।
केशब भट्टराई, कलाकार/निर्माता
मैले उहाँलाई लिएर आफ्नो मान्छे, पाहुना र सो सिम्पल निर्माण गरेको थिएँ । त्यो भन्दापनि महत्वपूर्ण कुरा, मैले उहाँका अधिकांश फिल्ममा अभिनय गर्ने मौका पाएको छु । बिशेषगरी सुख दु:ख फिल्ममा उहाँले मलाई दिनुभएको चरित्र मेरो करियरकै मेमोरियबल चरित्र बनेको छ । मेरो बुझाईमा शिब रेग्मी नेपाली फिल्म उधोगको एउटा माईल स्टोन हो ।
बिकास आचार्य, लेखक/निर्देशक
हामीले युद्ध, राम बलराम, कहाँ भेटिएला, हाँसि देउ एक फेर, म तिमी बिना मरिहाल्छु जस्ता आधा दर्जन फिल्ममा स्क्रिप्ट लेखनको सहकार्य गरेका छौं । उहाँ निकै सहज व्यक्ति हुनुहुन्थ्यो । अरूको बिषयमा कुरा नकाट्ने र अर्काको कुरा सुन्न नरूचाउने तथा सधैं सकारात्मक सोच राख्ने हँसिलो मेरो मित्रलाई आज मैले गुमाएको छु । हामी हरेक काम एकअर्काको सल्लाहमा गर्थ्यौं । मैले आफ्नो शरिरको एउटा अंग नै गुमाएको अनुभव गरेको छु ।
लक्ष्मी गिरी, बरिष्ठ कलाकार
उहाँ निकै चुलबुले स्वाभावको लाग्थ्यो मलाई । म त उहाँको बर्णन गरेरै थाक्दिन । अब हामीलाई कस्ले गाली गर्छ ? कस्ले अभिनय गराउँछ ?
किशोर राना, बरिष्ठ निर्देशक
नेपाली फिल्म क्षेत्रको उहाँ दिग्गज व्यक्ति हुनुहुन्छ । उहाँले त सुनौलो अक्षरमा लेखिनुपर्ने गरि एउटा अध्याय नै कोरेर जानुभएको छ ।
शम्भु सापकोटा, छायाँकार
मैले उहाँको पहिलो फिल्ममा नै क्यामेरा चलाउने अहोभाग्य पाएको थिएँ । त्यसपश्चात उहाँसँग १३ वटा फिल्ममा काम गरें । उहाँले बनाएका फिल्मले नै उहाँको चरित्र निर्धारण गर्छ जस्तो लाग्छ मलाई ।
राजेन्द्र उप्रेती, निर्देशक
मेरो त उहाँ कर्म दिने बुबा नै हो । आफन्तदेखि मानिससम्मका फिल्ममा उहाँको सहायक निर्देशक भएर काम गरेको थिएँ । शिब दाईको चेला हुन पाउँदा म गर्व गर्छु । आज मैले मात्र हैन सम्पूर्ण उधोगले नै एउटा कुशल निर्देशकलाई गुमाएको छ ।
छबिराज ओझा, निर्माता
मलाई सम्झना छ, उहाँले आफन्त फिल्मको स्क्रिप्ट मेरै घरमा बसेर लेख्नु भएको थियो । उहाँसँग मैले फिल्म गर्ने भनेर एग्रिमेन्ट पनि गरेको थिएँ तर समयानुकुल नहुँदा गर्न सकिन । उहाँले नै नारी प्रधान फिल्मको ट्रेण्ड भित्र्याउनु भएको हो । उहाँ जस्तो व्यक्तिलाई गुमाउनु हामी सबैको लागि दु:खको कुरा हो ।

