बरिष्ठ फिल्म निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको जानकारी प्राप्त भएको छ । बिगत २६ दिनदेखि 'भेन्टिलेटर'मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको अवस्था नाजुक रहेको अस्पतालमा उपचारार्थ चिकित्सकले जनाएका छन् ।
दुबै किड्नीले काम नगरेको अवस्थामा रहेका निर्देशक रेग्मीको अहिले काठमाण्डौको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । आफन्त सहित फिल्मकर्मीहरू अस्पतालमा निर्देशक रेग्मीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् भने अन्य आफन्तजनहरू रेग्मीलाई भेट्न उनको गृहनगर चितवनबाट काठमाण्डौ आउने क्रममा छन् ।
बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखन यात्रा थाले पनि 'आफन्त' फिल्म उनको पहिलो निर्देशकिय फिल्म हो । नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको 'पराई', 'मनले मनलाई छुन्छ' नामक दुई फिल्म रिलिजको क्रममा छन् ।
फिल्मीखबर डट कम परिवार निर्देशक रेग्मीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

