दुबै मृगौलामा खराबी आएपछि गम्भिर अवस्थामा पुगेका निर्देशक शिव रेग्मीको स्वास्थ्य उपचारका लागि चलचित्र पत्रकार संघ चितवन र ईन्द्रदेव चलचित्र मन्दिर नारायणगढले ३६ हजार एकसय ११ रुपैया अर्थिक सहयोग गरेका छन् ।

शुक्रबार नारायणगढमा एक कार्यक्रमका बिच संघले ११ हजार एक सय ११ र ईन्द्रदेव हलले २५ हजार नगद रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीलाई हस्तान्तरण गरेका हुन् । एउटा बरिष्ठ फिल्मकर्मीको पिडामा पत्रकारहरु पनि दुःखी रहेको जनाउदैं थोरै रकम भएपनि संस्थागत रुपमा सहयोग गरिएको संघका अध्यक्ष श्यामराज बिश्वकर्माले बताए ।
दश महिना अघि अकास्मात बिरामी परेपछि रेग्मीको हाल दुवै मृगौलाले काम नगर्ने अवस्था छ । रेग्मीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बन्दै गएपछि भरतपुर मेडिकल कलेजबाट हेलिकप्टर मार्फत केहि दिन अघि काठमाण्डौ लगिएको छ । रेग्मीलाई बल्खु स्थित बयोध्या अस्पतालमा भर्ना गरिएको छ । रोग प्रतिरोधात्मक क्षमतामा कमि देखिएकाले उपचारमा बाधा आएको परिवारले जनाएको छ ।
अहिले निमोनियाले चापेपछि मृगौला प्रत्यारोपण तथा थप उपचारमा समस्या भएको निर्देशक रेग्मीकी धर्मपत्नी ज्ञानुले बताईन् । व्यक्तिगत सहयोग कतैबाट नलिनु भनि बिरामी अवस्थामा श्रीमानले आफुलाई भनेको जनाउदैं संस्थागत सहयोग मात्र बुझ्ने गरेको ज्ञानुले बताईन् । रेग्मीको उपचारमा अहिले सम्म ४० लाख भन्दा बढी खर्च भएको ज्ञानुको भनाई थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बरिष्ठ चरित्र अभिनेता ऋद्धिचरण श्रेष्ठ, नारायणी कला मन्दिरका पूर्व अध्यक्ष बिनय श्रेष्ठ, संगीतकार सहनलाल प्रधान, ईन्द्रदेव चलचित्र मन्दिरका संचालक मुक्तिलाल पिया र चितवनका कलाकर्मी, पत्रकारको सहभागिता रहेको थियो । निर्देशक रेग्मीले कलाकारिताको अभ्यास गरेको नारायणी कला मन्दिरले पनि केहि दिन अघि रेग्मीद्धारा निर्देशित 'सो सिम्पल' फिल्मको च्यारिटी शो गरेर नगद रू। एक लाख सहयोग गरेको छ ।

